११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी चौकी बुइपाको नवनिर्मित कार्यालय भवन उद्घाटन

प्रहरी चौकी बुइपाको नवनिर्मित कार्यालय भवन उद्घाटन



खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा बनेको प्रहरी चौकीको भवन उद्घाटन भएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको रु दुई करोड दुई लाख दुई हजार ४१८ लगानीमा निर्माण गरिएको भवन एक नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मङ्गलबार उद्घाटन गर्नुभएको हो ।

गोरखा–रुजन जेभी काठमाडाँैले वि.सं. २०७६ असार १७ गते सम्झौता गरेर तोकिएकै समयमा निर्माण सम्पन्न गरिएको नवनिर्मित दुई तले पक्की प्रहरी चौकी भवनमा आठवटा कोठा रहेको ठेकेदार कम्पनीका प्रतिनिधि ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । नवनिर्मित प्रहरी चौकी भवनमा महिला÷पुरुष हिरासत, कार्यालय प्रमुख तथा जवानका लागि छुट्टाछुट्टै कोठा रहेको जनाइएको छ ।

अत्याधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको भवनको प्रत्येक कोठामा एट्याच ट्वाइलेट (कोठाभित्रै शौचालय) तथा प्रत्येक कोठामा वाथरुम (नुहाउने कोठा) रहेको छ । पहिलो तलामा तीन, माथिल्ले तलामा चार र सिरान तलामा एउटा कोठा रहेको भवनको बाहिरपट्टी सर्वसाधारणका लागि महिला÷पुरुष छुट्टाछुट्टै शौचालय र भान्छाघरसमेत निर्माण गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि नै सञ्चालनमा आएको प्रहरी चौकी भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक बिसीले जनमैत्री प्रहरी सेवा र कानूनको परिधिमा रही जनचाहना बमोजिमको सेवा प्रदान मातहतका प्रहरीलाई निर्देशन दिनुभएको छ । “खोटाङमा तीन महिलाको श्रृङ्खलावद्ध हत्या भएको लामो समय बितिसकेको भन्ने जानकारी आएको छ”, उहाँले भन्नुभयो, “ती महिलाहरुको हत्यामा संलग्नलाई खोजीगरी तत्काल कानूनी दायरामा ल्याउनुस् । अपराध अनुसन्धान गर्न आवश्यक जनशक्ति प्रदेश प्रहरी कार्यालयले दिन्छ । कुनै पनि हालतमा दोषी उम्कनुभएन ।”

वि.सं. २०७३ साल माघ २६ गते बुधबार बिहान मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साउन–४ गते हत्या गरिएकै अवस्थामा जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्कर्माको फेला परेको थियो । तीन महिलाको श्रृङ्लावद्ध हत्यामा संलग्न दोषी पहिचानका लागि प्रहरीले अनुसन्धान जारी रहेको जनाएनि पत्ता लाग्न नलाग्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको लगानीमा गत वर्ष बुइपा, च्यास्मिटार र रतन्छामा प्रहरी चौकी निर्माणको काम शुरु गरिएको थियो । बुइपासँगै च्यास्मिटारमा निर्माण गरिएको भवन सम्पन्न भएर हस्तान्तरण गरिएको र रतन्छामा निर्माणाधीन रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख अनुज श्रेष्ठले जानकारी दिनुभयो ।

भवन उद्घाटन कार्यक्रममा सहभागी बुइपाका स्थानीय बासिन्दाले प्रहरी चौकी बुइपामा दरबन्दी अनुसारको प्रहरी र सवारी साधन उपलब्ध गराउन प्रहरी नायब महानिरीक्षक बिसीलाई अनुरोध गरेका छन् । बुइपा भौगोलिक रुपमा ठूलो रहेको र प्रहरी चौकीमा सवारी साधन नहुँदा कतिपय घटनामा आफूहरुको मोटरसाइकल उपलब्ध गराउनुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा एवम् नेकपा एमालेका नेता मिलन राईले बताउनुभयो ।

पञ्चेबाजासहित उद्घाटन गरिएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको पस्थिति रहेको थियो । ओखलढुङ्गा हुँदै खोटाङ आउनुभएको प्रहरी नायब महानिरीक्षक बिसी प्रहरी चौकी बुइपाको भवन उद्घाटनपछि जिल्ला प्रहरी कार्यालय दिक्तेलको निरीक्षण गरेर मङ्गलबार साँझ नै भोजपुर जानुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार ००:००  २ : ३६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली