८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरस्वती मावि पाथेकाको पठनपाठन पक्की भवनमा

नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले गर्नुभयो औपचारिक रुपमा उद्घाटन

सरस्वती मावि पाथेकाको पठनपाठन पक्की भवनमा

नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले गर्नुभयो औपचारिक रुपमा उद्घाटन



खोटाङ, ८ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकास्थित सरस्वती माध्यमिक विद्यालयमा सुविधायुक्त पक्की भवनमा अध्ययन/अध्यापन शुरु भएको छ । विगत लामो समयदेखि पुरानो तथा ढुङ्गा/माटोले बनेको विद्यालय भवनको धुलाम्मे कक्षा कोठामा अध्ययन गर्दै आएका विद्यार्थी अहिले सुविधायुक्त पक्की भवनमा बसेर अध्ययन गर्न पाएपछि हर्षित भएका छन् ।

२०१७ सालदेखि सञ्चालित विद्यालयमा भूकम्प प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) खोटाङको आर्थिक सहयोगमा चार तला भएको चार कोठे विद्यालय भवन तथा सुविधायुक्त शौचालय र नगरपालिकाको आर्थिक सहयोगमा एक तला भएको दुई कोठे विद्यालय भवन निर्माण गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) खोटाङको रु ७० लाख ४० हजारमा विद्यालय भवन, फर्निचर तथा रु १५ लाखमा शौचालय र नगरपालिकाको रु ३५ लाख लागतमा अर्को पक्की भवन तथा विद्यालय परिसरमा तारजालीको घेराबारसमेत हालिएको छ ।

ठेकेदार कम्पनीमार्फत निर्माण गरिएका दुवै विद्यालय भवन र शौचालय बुधबार नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले औपचारिक रुपमा बुधबार उद्घाटन गर्नुभयो । विद्यालय भवन तथा शौचालय उद्घाटन कार्यक्रममा जग्गादाता, पूर्व प्रअ, सहयोगदाता लगायतलाई सम्मानसमेत गरिएको थियो ।

करीब ६१ वर्षअघि स्थापना भएको विद्यालयका लागि तत्कालीन पाथेका गाउँ पञ्चायतका प्रधानपञ्च स्वर्गीय जगतबहादुरले निःशुल्क जग्गा दिनुभएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालय भवन तथा शौचालय उद्घाटन कार्यक्रममा जग्गादाता जगतबहादुरकी श्रीमती शिवकुमारी राईलाई नगरप्रमुख रिजाल र उपप्रमुख राईले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

विद्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका पूर्व प्रअ धनप्रसाद गिरी, जिल्ला कार्यान्वयन इकाईका प्रमुख सेमन्त गौतम, इन्जिनियर बुधन यादव, ठेकेदार कम्पनीका प्रतिनिधि धौलराज राई लगायतलाई सम्मान गरिएको छ । उद्घाटन कार्यक्रममा विद्यालयलाई निःशुल्क जग्गा दिनुहुने जग्गादाता जगतबहादुरको परिवारको तीनपुस्ते नामावली लेखिएको ताम्रपत्रसमेत अनावरण गरिएको छ ।

ढुङ्गा/माटोले बनेको सात कोठा भएको दुईवटा भवनमार्फत पठनपाठन हुँदै आएको विद्यालयका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय खोटाङको रु १९ लाख ५० हजार तथा विद्यालयको आन्तरिक स्रोतबाट रु १४ लाख ५० हजारगरी जम्मा रु ३४ लाखमा तीन कोठे पक्की भवन यसअघि नै निर्माण गरिएको थियो । यसअघि नै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको उक्त विद्यालय भवन अझै फरफारक हुन बाँकी रहेको विद्यालय परिवारले जनाएको छ ।

४१४ जना विद्यार्थी अध्ययनरत विद्यालयका लागि अझै दुईवटा कक्षा कोठा अभाव रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बानियाँले बताउनुभयो । “विद्यार्थीको चाप र भौगोलिक विकटतालाई मध्यनजर गर्दै आगामी शैक्षिकसत्रदेखि कक्षा-११ पनि सञ्चालन गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “सम्बन्धित निकायले यहाँको बाध्यता र आवश्यकता बुझ्नेछ भन्ने अपेक्षा गरेका छौँ ।”

प्रावि स्थायी चार, निमावि स्थायी तीन, प्रावि अस्थायी एक, निमावि राहत एक, मावि राहत तीन, कर्मचारी एक र कार्यालय सहयोगी एकगरी १४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । विद्यार्थीको अनुपातमा शिक्षक सङ्ख्या कम र विषय विज्ञ शिक्षक नभएका कारण गुणस्तरीय शिक्षामा केही समस्या रहेको विद्यालयका प्रधानाध्याकप उत्रप्रसाद राईले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख रिजाल र उपप्रमुख राईलाई विद्यालयको तर्फबाट प्रअ राईले ज्ञापनपत्रसमेत बुझाउनुभएको छ । विद्यालयले राखेको मागको विषयमा सम्बोधन गर्नुहुँदै नगरप्रमुख रिजालले विज्ञान प्रयोगशाला र चार कोठे भवनका लागि नगरपालिकाको तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाउनुभएको छ ।

उद्घाटन कार्यक्रममा स्थानीय राई जातिको साकेला सिली, क्षेत्री/बाहुनको सँगिनी लगायत विभिन्न जातजातिको साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । निक्कै तामझामका साथ उद्घाटन गरिएको कार्यक्रममा राजनीतिक दल, समाजसेवी, वुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार ००:००  ८ : ५४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली