८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनयुद्धमा मारिएका ७३ जना माओवादी नेताको सम्मानस्वरुप शहीद स्तम्भ पार्क निर्माण

जनयुद्धमा मारिएका ७३ जना माओवादी नेताको सम्मानस्वरुप शहीद स्तम्भ पार्क निर्माण



खोटाङ, २४ फागुन । खोटाङको साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क (उद्यान) निर्माण गरिएको छ । दश वर्षे माओवादी जनयुद्धका क्रममा विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ जना शहीदहरुको सम्मानस्वरुप पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो ।

शहीद स्तम्भ पार्कमा खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा नेपाल प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाउनुभएका शहीद मनोज जोशीको नामसमेत समावेश गरिएको छ । तत्कालीन नेकपा माओवादीको जिल्ला समिति सदस्य शहीद श्रेष्ठलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तारगरी वि.सं. २०५५ पुस-२७ गते उदयपुरको तावाश्रीमा लगेर गोली हानी हत्या गरेका थिए ।

शहीद जोशीलाई वि.सं. २०४८ साउन-१५ गते नेपाल प्रहरीले गोली हानेर हत्या गरेका थिए । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौता पूरा नभएको बिरोधमा कर्मचारीले निकालेको शान्तिपूणर् जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले गोली हानेर हत्या गरेको हो ।

देश र जनताका लागि आफ्नो ज्यान आहुति दिनुहुने शहीदहरुको सम्मान र पर्यटकीयस्थल तावाभञ्ज्याङको प्रवद्र्धन गर्न शहीद स्तम्भ पार्क निर्माण गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “तावाभञ्ज्याङ प्राकृतिकरुपमै पर्यटकीयस्तल हो । तावाभञ्ज्याङको प्रवद्र्धन गर्न विभिन्न संरचनाहरु निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको क्रमागत योजना अन्तरगत यस वर्ष रु १५ लाख लगानीमा शहीद स्तम्भ, पार्क र प्रवेशद्धार निर्माण गरिएको छ ।”

दश वर्षे जनयुद्धको समयमा माओवादीको सुरक्षित सेल्टर मानिने तावाभञ्ज्याङ नजिकै पाँचधारेमा वि.सं. २०६२ असार-८ गते माओवादी र नेपाली सेनाबीच दोहोरो भिडन्त हुँदा माओवादीका कम्पनी कमाण्डर सर्वधान राई ‘अग्नि’सहित दश जनाले ज्यान गुमाएका थिए । उक्त घटनामा नेपाली सेनाका १३ जना जवानसमेत मारिएका थिए ।

माओवादी युद्ध भूमि मानिने तावाभञ्ज्याङमा निर्माण गरिएको शहीद पार्कलाई बाह्रै महिना हराभरा बनाएर पर्यटकलाई आकर्षित गर्न पार्क वरिपरी व्यवसायिक रुपमा चिया बगानसमेत लगाइएको छ । शहीद पार्क निर्माणस्थलको दायाँ/बायाँ करीब दश रोपनी जग्गामा गत वर्ष गाउँपालिकाको लगानीमा आठ हजार चिया बिरुवा लगाइएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो ।

पर्यटकीयस्थल तावाभञ्ज्याङ टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल (पदमार्ग)को प्रवेशद्धारमा पर्दछ । खोटाङ र भोजपुर सिमानामा पर्यटकीयस्थल तावाभञ्ज्याङको पर्यटन प्रवद्र्धन गर्न साकेला गाँउपालिकाको ३०, प्रदेश सरकारको ३५ र स्वीस सरकारको ३५ प्रतिशत अनुदान सहयोगमा पदमार्ग निर्माण गरिएको हो ।

त्रिपक्षीय सम्झौताको आधारमा निर्माण गरिएको मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा पर्छ । गत वर्ष उक्त पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुख्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका भौतिक पूर्वाधार निर्माणको काम भएको छ ।

समुन्द्री सतहदेखि करीब दुई हजार २०० मिटरको उचाईमा रहेको तावाभञ्ज्याङमा कृतिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरिएको छ । प्रदेश नम्बर-१ कै नमूना तथा ठूलो कृतिम ताल निर्माण गर्ने तयारीका साथ साकेला गाउँपालिकाले डिपिआर तयार पारेको हो ।

करीब रु ५६ करोड लागतमा निर्माण सम्पन्न हुने कृतिम तालका लागि १ नम्बर प्रदेश सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख झङ्कारले बताउनुभएको छ । तावाभञ्ज्याङमा निर्माण गरिने कृतिम ताल साढे ६०० मिटर लम्बाई र ५०० मिटर चौडाईको हुने डिपिआरमा उल्लेख छ ।

तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृतिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा वाह्य पर्यटकलाई करीब तीन घण्टासम्म डुङ्गा सयर गराउने, पौडी खेलाउन र दृष्यावलोकन गराउनका साथै तालभित्र माछा तथा हाँस पालन लगायतका क्रियाकलाप गर्नमा सहज हुने अपेक्षा गरिएको छ ।

पर्यटकीयस्थल तावाभञ्ज्याङ नजिकै पर्ने मखमलेमा रेन्बो ट्राउट माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादन गर्ने श्रोत केन्द्रसमेत सञ्चालन गरिएको छ । ‘तावाहाङ रेन्बो ट्राउट कृषक समूह’ले शुरु गरेको रेन्बो ट्राउट फर्ममा अहिले करीब आठ क्विन्टल बिक्री गर्न लायक रेन्बो ट्राउट माछा उत्पादन भएका छन् ।

प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको तावाभञ्ज्याङको चौतर्फी प्रवद्र्धनको काम शुरु भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् । तावाभञ्ज्यामा पछिल्लो समय घरहरु निर्माण गर्ने तथा होटलहरु खोल्नेक्रम शुरु भएको छ ।

माघे सङ्क्रान्ति, नयाँ वर्ष, वैशाखे पूणर्िमा लगायतमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने पर्यटकीयस्थल तावाभञ्ज्याङमा होमस्टे (घरबास)समेत निर्माण गर्ने तयारी गरिएको छ । होमस्टे निर्माण तथा सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष बजेटसमेत विनियोजन गरेको गाउँपालिका प्रमुख झङ्कारले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार ००:००  ७ : १६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली