११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी



खोटाङ, ५ जेठ । हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा विमला राई र उपप्रमुखमा काँग्रेसकै रमेश राउत विजयी हुनुभएको छ । विमलाले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का खडेन्द्रकुमार राईलाई ३५१ मतले तथा राउतले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अमेम्बर राईलाई २७३ मतले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी हुनुभएको हो ।

विमलाले छ हजार ३१७ मत ल्याएर विजयी हुँदा खडेन्द्रले पाँच हजार ९६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सँगीता न्यौपाने (ढुङ्गेल)ले जानकारी दिनुभयो । निर्वाचन अधिकृत ढुङ्गेलका अनुसार उपप्रमुखमा राउतले पाँच हजार ९३४ मत ल्याएर विजयी हुँदा राईले पाँच हजार ६६१ मतमात्र ल्याउनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा विमला नगरप्रमुखमा निर्वाचित हुनुहुने पहिलो महिला बन्नुभएको छ । वि.सं. २०७४ सालको निर्वाचनमा काँग्रेसबाटै उपप्रमुखमा विजयी विमलाले यस वर्षको निर्वाचनमा एमाले र माओवादी केन्द्रको अघोषित गठबन्धनलाई पराजित गर्दै प्रमुखमा विजयी हुनुभएको हो ।

एघार वडा रहेको यस नगरपालिकामा तीनवटा वडा बाहेक अन्य सबैमा काँग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । वडा नं. ६ मङ्गलटारमा नेकपा (माओवादी केन्द्र)का गण राई तथा वडा नं. १० अर्खौलेमा एमालेका अर्जुनकुमार पुरी र वडा नं. ११ राजापानीमा एमालेकै अनिस कार्की विजयी हुनुभएको हो ।

अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुखसहित सात वडा जितेको काँग्रेसले यस पटकको निर्वाचनमा थप एक वडाध्यक्षसहित पुनः प्रमुख र उपप्रमुख दुवै जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँग्रेसबाट वडा नं. १ बाहुनीडाँडामा रुद्रकुमार राई, वडा नं. २ डिकुवामा देवेन्द्रकुमार राई, वडा नं. ३ च्यास्मिटारमा भूपालसिं राई, वडा नं. ४ बडहरेमा किशोरकुमार बस्नेत, वडा नं. ५ दुर्छिममा रुपेन्द्रकुमार राई, वडा नं. ७ महादेविस्थानमा कमल गिरी, वडा नं. ८ धितुङमा टेकराज राई र वडा नं. ९ सल्लेमा काँसीराज राई वजयी हुनुभएको हो ।

जिल्लाका दश स्थानीय तहमध्ये काँग्रेसले सबैभन्दा बढी छ तथा एमाले र माओवादी केन्द्रले दुई÷दुई स्थानीय तहको प्रमुखमा विजय हाँसिल गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा काँग्रेसका तीर्थराज भट्टराई तथा उपप्रमुखमा माओवादी केन्द्रका विसन राई नेकपा (एमाले)का उम्मेदवार कुमार आचार्य र विणादेवी राईलाई अत्यधिक मतले पछि पार्दै विजयी हुनुभएको छ ।

साकेला गाउँपालिकाको प्रमुखमा काँग्रेसका रविप्रकाश राई तथा उपप्रमुखमा माओवादी केन्द्रका बिर्सिका राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा एमालेका लोकन्द्र राई तथा उपप्रमुखमा एमालेकै अरुणा थापामगर, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा एमालेका गिरेन्द्रबहादुर राई तथा उपप्रमुखमा काँग्रेसका राजेश राजभण्डारी, बराहपोखरी गाउँपालिकाको प्रमुखमा काँग्रेसका शालिकराम बञ्जरा तथा उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का भूवलराज राई विजयी हुनुभएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिकाको प्रमुखमा काँग्रेसका समिर राई तथा उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका गुरुराज राई, रावाबेँसी गाउँपालिकाको प्रमुखमा काँग्रेसका फटिककुमार श्रेष्ठ तथा उपप्रमुखमा एमालेका कौशिला गुरुङ, जन्तेढुङ्गा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका अरुणादेवी राई ‘दिक्षा’ तथा उपप्रमुखमा काँग्रेसका खेमबहादुर खड्का र खोटेहाङ गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका उदिमबहादुर राई ‘मुक्ति’ तथा उपप्रमुखमा काँग्रेसका रुपेश राई विजयी हुनुभएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको छ वटा स्थानीय तहमा काँग्रेससहित चार दल तथा चारवटामा काँग्रेसबाहेक तीन दलबीच चुनावी तालमेल भएको थियो । चार राजनीतिक दलबीच चुनावी तालमेल भएको ऐसेलुखर्क गाउँपालिकामा काँग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङले बागी उम्मेदवार दिनुभएपछि गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका श्रीबहादुर राई पराजित हुनुभएको छ ।

वि.सं. २०७४ सालको निर्वाचनमा एमाले पाँच, काँग्रेस चार र माओवादी केन्द्रले एउटा स्थानीय तह जितेको थियो । सत्ता गठबन्धनमा आवद्ध काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको जिल्लामा यस वर्षको निर्वाचनमा एमाले एक्लै मैदानमा उत्रिएको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार ००:००  ५ : १० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली