११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम बीचमै अलपत्र

भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम बीचमै अलपत्र



खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीले खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम बीचमै अलपत्र अवस्थामा छाडिएको छ । जिल्ला आयुर्वेद कार्यालय हुँदै दिक्तेल–दुम्ली जोड्ने सडक ढलानको ठेक्का लिएको जेपी–लगलगे जेभीका ठेकेदारको लापरबाहीले सडक ढलान गर्दागर्दै फलामे रड बिछ्याएर अलपत्र अवस्थामा छाडेपछि हिँडडुल गर्नसमेत समस्या भएको छ ।

अलपत्र अवस्थामा छोडिएको निर्माणाधीन सडकको केही ठाउँमा ढलान गरिएको छ भने, केही ठाउँमा रडमात्र बिच्छ्याइएको छ । ढलान गर्न तयारी गरिएको सडक अलपत्र बनाएर दुई महिनादेखि ठेकेदार बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन् ।

सडकमा रड बिच्छ्याएर छाडेपछि मान्छे हिँड्नदेखि पशुचौपायँ हिडाउनसमेत समस्या भएको स्थानीय टंकप्रसाद आचार्यले बताउनुभयो । “स्थानीय बासिन्दाले लेकबेँसी गर्ने बाटो यहि हो, यहाँका मानिसहरु पानीपधेँरो जाने बाटो पनि यहि हो”, उहाँले भन्नुभयो, “सबैले गाईबस्तु यही बाटो हिडाउँनुपर्छ तर, बाटोभरी रड बिच्छ्याएर छाडिएको छ । रडमा अल्झिएर खुट्टा भाँचिन्छ भन्ने ठूलो डर छ । यसप्रति सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ ।”

सडकमा बिच्छ्याइएको रडले हिँडडुल गर्न समस्या भएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईको टोलीले बुधबार अनुगमन गरेको छ । अनुगमनकै क्रममा निर्माण कम्पनीका प्रमुखलाई प्रजिअ सेडाईले फोनमार्फत तुरुन्त काम सम्पन्न गर्न निर्देशनसमेत दिनुभएको छ ।

८० घनमिटर आरसीसी ढलान, ९१ घनमिटर सोलिङ र ८४ घनमिटर मेसीनरी वाल निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाले रु ४२ लाख ३२ हजार २३१ को इस्टमेट निकालेको थियो तर, निर्माण कम्पनीले रु २३ लाख ६८ हजारमा ठेक्का पारेको थियो । इस्टामेटभन्दा झण्डै आधा रकम कममा वि.सं. २०७९ वैशाख १९ गते काम सक्नेगरी वि.सं. २०७८ माघ २० गते उक्त निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

बीचैमा अलपत्र छाडिएको सडकको काम तत्काल सम्पन्न गरेर सहजता नबनाए कानूनी प्रक्रिया अगाडि बढाइने नगर प्रमुख भट्टराईले बताउनुभएको छ । “सडक ढलानमा ठेकेदारको लापरबाही देखिएको छ”, उहाँले भन्नुभयो, “तत्काल काम पूरा गर्न निर्देशन दिइएको छ । पूरा नगरेमा कानूनी कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।”

म्याद सकिएको चार महिना भइसक्दा पनि ७० प्रतिशत मात्र काम पूरा भएको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाका इन्जिनर सञ्जयकुमार चौधरीले बताउनुभयो । यस्तै सोही निर्माण कम्पनीले नगरभित्रकै अन्य दुईवटा योजना पनि अलपत्र पारेर छाडेको छ ।

हाडडाँडा काफ्ले गाउँ–धुम्ती बरडाँडा सडकको ढलान, सोलिङ र मेसनरी वाल निर्माणको कामको सक्ने म्याद नागेको तीन महिना भइसक्दा ४५ प्रतिशत मात्र काम भएको इन्जिनर चौधरीले बताउनुभयो । रु ६६ लाख २२ हजार ६० मा ठेक्का सम्झौता भएको उक्त योजनाको गत जेठमै म्याद सकिएको हो ।

यस्तै, दोर्पा–दुम्ली सडकको काम पनि सोही निर्माण कम्पनीले जिम्मा लिएर काम सम्पन्न नगरी अलपत्र अवस्थामा छाडेको छ । रु ४२ लाख ३६ हजार ४७३ मा ठेक्का सम्झौता भएको उक्त योजनाको म्याद पनि गत वैशाखमा सकिएको छ । तर, निर्माण कम्पनीले बीचैमा सडक अलपत्र पारेर छाडेको छ ।

काम सम्पन्न गर्न सम्झौता मिति सकिदा पनि सरकारको सार्वजनिक खरिद १२ औँ सम्सोधन नियमावली २०७९ अनुसार नेपालका सबै योजनाको सम्झौता मिति एक वर्षलाई थपिदा निर्माण कम्पनीलाई सहज भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार ००:००  ३ : ५१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली