८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता



खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूले शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

नगरपालिकाभित्र सञ्चालित मावि, निमावि र आविका व्यवस्थापन समिति अध्यक्षहरूले १५ तथा प्रअहरूले १७ वटा बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिकासमक्ष लिखित प्रतिबद्धता जनाएका हुन् ।

शिक्षामा परिवर्तन गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले शिक्षा सुधारसम्बन्धी चार दिने अभिमुखीकरणमा सहभागी गराएर लिखितरुपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइएको नगरप्रमुख एवम् शिक्षा समितिका अध्यक्ष तीर्थराज भट्टराईले जानकारी दिए ।

नगरपालिका र प्रअ तथा विव्यास अध्यक्षसँग भएको प्रतिबद्धता पूरा गर्नमा कुनै कसर नराख्न नगरप्रमुख भट्टराईले निर्देशनसमेत दिएका छन् । व्यवस्थापन समितिका अध्यक्षहरूले शिक्षा नियमावलीको नियमावली २८ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्ने, बालबालिकाहरू विद्यालय आउनेजाने बाटो मर्मत गर्ने, शौचालयको मर्मतसम्भार र सरसफाइ गर्ने, शुद्ध पिउने पानीको प्रबन्ध गर्ने, भौतिक पूर्वाधारको मर्मतसम्भारमा जोड दिने, शिक्षक र विद्यार्थीको उपस्थितिका लागि सहजीकरण, विद्यालयमा नियमित पठनपाठनको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, पदाधिकारी आलोपालो गरी विद्यालयमा नियमित उपस्थित हुने, फूलबारी र करेसाबारी निर्माणमा सहजीकरण गर्ने, विद्यालय परिसर र कक्षाकोठाको सरसफाइ, विद्यार्थी, शिक्षक र अभिभावक प्रोत्साहन कार्यक्रम, स्थानीयस्तरमा स्रोतको पहिचान, संकलन र उपयोगमा बृद्धि गर्ने लगायतका विषयमा प्रतिबद्धता जनाएका हुन् ।

प्रअहरूले वार्षिक कार्ययोजना र शैक्षणिक कार्ययोजनाको निर्माण÷कार्यन्वयन गर्ने, नगर शिक्षा नियमावली २०७६ को नियम ५४ मा तोकिएका प्रअका काम, कर्तव्य र अधिकारको कार्यान्वयनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, बिहान ठीक १० बजेदेखि ४ बजेसम्म दैनिक विद्यालय सञ्चालन र तोकिएको समयसीमाभित्र नियमित पठनपाठन, शिक्षकको अनुपस्थिति भएको समय र शिक्षकको अभाव भएका विद्यालयमा कक्षाका क्षमतावान विद्यार्थीलाई बैकल्पिक शिक्षकका रुपमा शिक्षणको अवसर दिने, अनुपस्थित विद्यार्थीका अभिभावकसँग कक्षा शिक्षकबाट सम्पर्क र विद्यालय समुदाय सम्बन्ध सुधार, विद्याल परिसरको नियमित सरसफाइ र पुष्प बाटिका निर्माण, जरुरी काम बाहेक विद्यालयमा शिक्षकको नियमित उपस्थितिमा सुनिश्चितता, विद्यालय स्थापनाका दिन अभिभावकहरूको सहभागितामा छात्रबृत्ति वितरण, परीक्षाको नतिजा विश्लेषण गरी सोको निचोड अभिभावकलाई बुझाउने लगायतका १७ वटा बुँदामा प्रतिबद्धता जनाएका हुन् ।

नगरपालिका र विव्यास अध्यक्ष तथा प्रअसँग भएको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नगरप्रमुख भट्टराई, उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल लगायतको उपस्थिति थियो ।

प्रतिबद्धता जनाउनुअघि असोज–२९ गतेदेखि कातिक–१ गतेसम्म अध्यक्ष र प्रअलाई शिक्षा सुधार अभियन्ता डा. तोयानाथ खनाल र माधवप्रसाद अधिकारी (ए) तथा शैक्षिक उत्प्रेरक माधवप्रसाद अधिकारी (बि)ले विद्यालय शिक्षा सुधारका विषयमा सहजीकरण गरेका थिए ।

पहिलो दिन २१ वटा मावि, १४ वटा निमाविका प्रअ र १५ वडाकै वडाध्यक्ष, दोस्रो दिन आधारभूत विद्यालय (१–५)का ५८ वटा प्राविका प्रअ, तेस्रो दिन मावि र निमाविका ३५ जना विव्यास अध्यक्ष र चौथो दिन आधारभूत विद्यालय (१–५) का ५८ जना विव्यास अध्यक्षसँग अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले विज्ञ उपस्थित गराएर चार दिने शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार ००:००  ९ : ५४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली