११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा १६ वटा एम्बुलेन्स भएपनि उचित व्यवस्थापन नहुँदा चाहिएको समयमा पाउन मुस्किल

खोटाङमा १६ वटा एम्बुलेन्स भएपनि उचित व्यवस्थापन नहुँदा चाहिएको समयमा पाउन मुस्किल



खोटाङ । छ वर्षअघि (वि.सं. २०७३ चैत-२६ गते) खोटाङ सेवा समाज बेलायत (यूके)ले जिल्लाका लागि सातवटा एम्बुलेन्स र एक थान अल्ट्रासाउण्ड मेसिन एकैसाथ उपलब्ध गराएको थियो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएका खोटाङ्गेले स्थापना गरेको खोटाङ सेवा समाज बेलायतको पहलमा जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँचवटा स्वास्थ्यचौकीलाई एक करोड १२ लाख ३१ हजार बराबरको सातवटा एम्बुलेन्स र १४ लाख बराबरको एक थान अल्ट्रासाउण्ड मेसिन औपचारिकरुपमा एकैसाथ उपलब्ध गराएको हो ।

बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिङ्गापुर, नेपाल लगायत विभन्न ठाउँमा बसोबास गर्ने ४४५ खोटाङ्गेबाट प्राप्त स्वेच्छिक सहयोग रकमले खरिद गरेर एम्बुलेन्स तथा अस्पतालका लागि उपकरण प्रदान गरिएको खोटाङ सेवा समाज यूकेका तत्कालीन अध्यक्ष अशोककुमार राईले बताउनुभएको थियो । रोजगारीको सिलसिलामा विभिन्न देशमा बसेपनि हामी खोटाङ्गे हौँ” दिक्तेलमा आयोजित एम्बुलेन्स तथा अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उहाँले भन्नुभएको थियो, “खोटाङ्गेको समस्यालाई समाधान गर्न हाम्रो पनि उत्तिकै गहन जिम्मेवारी हुने भएकाले आफ्नो गाँस काटेर जम्मा गरेको रकमले एम्बुलेन्स सहयोग गरेका हौँ ।”

खोटाङ सेवा समाज बेलायतले जन्तेढुङ्गा गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पर्ने डाँडागाउँ स्वास्थ्य चौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाको सिम्पानी स्वास्थ्य चौकीलाई एक/एकवटा एम्बुलेन्स उपलब्ध गराएको थियो । प्रतिगोटा रु ३२ लाख मूल्य पर्ने एम्बुलेन्स जुटाएर स्वास्थ्य संस्थालाई प्रदान गरिएको समाजको सहयोगले खोटाङवासीले केही समय सुविधासम्पन्न एम्बुलेन्स तथा सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमै अल्ट्रासाउण्ड सेवासमेत पाएका थिए ।

पहाडी भूगोल रहेको जिल्लामा राम्रो स्वास्थ्य सुविधा नहुँदा सामान्य रोगका बिरामीलाई पनि राजधानी काठमाडौँ लगायत अन्य सुविधासम्पन्न अस्पताल भएको स्थानमा पुर्‍याउनुपर्ने बाध्यता छ । तर, जिल्लाका लागि प्रवासी खोटाङ्गेले उपलब्ध गराएको करोडौँ मूल्यको एम्बुलेन्स उचित व्यवस्थापन नहुँदा कबाडीमा परिनत भएका छन् ।

ऐसेलुखर्क, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडास्थित लामाखु र खोटेहाङ गाउँपालिका-८ सिम्पानीको एम्बुलेन्स लामो समय अगाडिदेखि बिग्रिएर थन्किएका छन् । सार्वजनिक सम्पत्तिको रुपमा रहेको एम्बुलेन्स मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैको ध्यान गएको छैन ।

ऐसेलुखर्कको ग्यारेजमा चार वर्षदेखि थन्किएको एम्बुलेन्स मर्मत खर्च बढी लाग्ने भएकाले त्यतिकै रहेको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । बिग्रिएको एम्बुलेन्स मर्मत गर्न करिब रु छ बढी खर्च लाग्ने भएकाले हाल विचाराधीन अवस्था राखिएको गाउँपालिका प्रमुख राईको भनाइ छ ।

लामाखुका लागि उपलब्ध भएको एम्बुलेन्स तीन वर्ष अगाडि सिराहाको कञ्चनपुरमा दुर्घटनामा परेपछि उतै रहेको एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलनचन्द्र राईले जानकारी दिनुभएको छ । दुर्घटनाका मुद्दा अहिलेसम्म टुङ्गो नलागेकाले उक्त एम्बुलेन्स पुनः सञ्चालनमा आउने सम्भावना कम रहेको जनाइएको छ ।

सिम्पानीको एम्बुलेन्स पनि बिग्रिएर बसेको करिब दुई वर्ष भएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो । खर्च व्यवस्थापन गरेर बिग्रिएको एम्बुलेन्स पुनः सञ्चालनमा ल्याउने पहल भइरहेको गाउँपालिका प्रमुख राईको भनाइ छ ।

जन्तेढुङ्गा गाउँपालिका-१ चिसापानी, दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ डाँडागाँउ, केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा रहेको एम्बुलेन्स भने अहिलेसम्म सञ्चालन भइरहेको छ । तर, उचित व्यवस्थापन नहुँदा बिरामी परेका व्यक्तिले आवश्यक परेको समयमा प्रयोग गर्न सहजरुपमा पाउने अवस्था छैन ।

जिल्ला अस्पताल खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपा, ऐसेलुखर्क, केपिलासगढी, जन्तेढुङ्गा, दिप्रङ चुइचुम्मा, बराहपोखरी र साकेला गाउँपालिकामा हाल एम्बुलेन्स सञ्चालनमा रहेका छन् । बराहपोखरी, दिप्रुङ चुइचुम्मा, रावाबेँसी, ऐसेलुखर्क र साकेला गाउँपालिकाले खोटाङ सेवा समाजले उपलब्ध गराएको बाहेक आफ्नै पहलमा पनि एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ ।

खोटाङ सेवा समाज बेलायतले दिएको सातवटा बाहेक जिल्लामा अन्य नौँवटा एम्बुलेन्स रहेका छन् । तर, चाहिएको समयमा चालक नहुने, मर्मत गर्न ग्यारेजमा राखिएको, इन्धन अभाव लगायतका समस्या देखिने गरेको उपभोक्ताहरुले बताउने गरेका छन् ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका लागि उपलब्ध गराएको एम्बुलेन्स दिक्तेलस्थित रत्नपार्कमा बिग्रिएर बसेको छ । भारतीय वेल्फेयर सेन्टर दिक्तेलको एम्बुलेन्स पनि बिग्रेर बसेको चालक प्रेमबहादुर राईले जानकारी दिनुभएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा भने अहिले एम्बुलेन्स सेवा छैन । केही वर्ष अगाडि भारत सरकारले एम्बुलेन्स उपलब्ध गराएको एउटा एम्बुलेन्स हाल बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेको स्थानीय चक्रबहादुर राईले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटी खोटाङ शाखाको एम्बुलेन्स भएपनि उक्त एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएको छ । केही समय अगाडि काभ्रेको धुलिखेलमा दुर्घटनामा परेपछि हाल मर्मत कार्य भइरहेको रेडक्रस खोटाङका सभापति ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो ।

जिल्लामा रहेका एम्बुलेन्सहरु चालू अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले जानकारी दिनुभयो । “जिल्लाका सबै ठाउँमा प्रयाप्त स्वास्थ्य सेवा उपलब्ध छैन । जुनसुकै समयमा कुनै पनि समस्या आउन सक्छ”, उहाँले भन्नुभयो, “सम्भावित घटनाबाट बचाउन जिल्लामा उपलब्ध एम्बुलेन्स सेवालाई चालू अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छु ।”

जिल्लाका अधिकांश सडक कच्ची अवस्थामा रहेकाले पनि एम्बुलेन्स सेवा सञ्चालनमा समस्या आएको जिल्लाबासीको बुझाइ छ । हिउँदमा धुलो र वर्षामा हिलोका कारण बिरामी लिन गाउँ पुगेका एम्बुलेन्स फर्किएर आउँदा बिग्रिएर आउने गरेकाले सबैभन्दा बढी समस्या भएको एम्बुलेन्स सञ्चालकहरुले बताउँदै आएका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा यतिका मात्रामा एम्बुलेन्स भएपनि उचित व्यवस्थापन नहुँदा चाहिएको समयमा पाउन मुस्किल छ । सार्वजनिक सम्पत्तिको रुपमा रहेको एम्बुलेन्स व्यवस्थापनमा कसैको चासो नपुग्दा समस्या भएको हो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ००:००  ११ : २९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली