८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क स्थापना

प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क स्थापना



खोटाङ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारमा प्रजातान्त्रिक योद्धा एवम् क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । प्रदेश सरकार, १ नं. प्रदेशको रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको स्मृति पार्क तथा पूणर्कदको शालिक आज (सोमबार) उद्घाटन एवम् अनावरण गरिएको हो ।

क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडीखेललाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ शालिकसहितको स्मृति पार्क निर्माण गरिएको खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभयो । “ऐतिहासिकस्थल टुँडीखेलमा जननायक रामप्रसाद राईको शालिक, बगैँचा, घेराबारा लगायत संरचना निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “क्रान्ति नायक रामप्रसाद राईको नाममा स्मृति पार्क तथा उहाँको शालिक आफ्नो गाउँपालिकामा स्थापना गर्न पाउँदा हर्षित भएका छौँ ।”

फाइवरबाट निर्माण गरिएको जननायक राईको शालिक नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन तथा अनावरण गर्नुभएको हो । स्मृति पार्क उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणा राई ‘दीक्षा’, खोटेहाङ गाउँपालिका उपप्रमुख रुपेश राई, साकेला गाउँपालिका उपप्रमुख बिर्सिका राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

खोटाङको पुरानो सदरमुकाम (वि.सं. २०२० सालसम्म जिल्लाका सम्पूणर् प्रशासनिक कार्यालयहरु रहेको) खोटाङबजारमा स्थानीय युवाले फुटबल खेल्न प्रयोग गर्दै आएका टुँडिखेलमा तत्कालीन गाउँपालिका प्रमुख प्रदीप राईको पालामा गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारेर क्रान्ति नायक राईको स्मृति पार्क निर्माणको काम अघि बढाएको थियो । पर्खाल, प्रतीक्षालय लगायतका संरचनाहरु यसअघि नै निर्माण गरिएको टुँडिखेलमा वर्तमान जनप्रतिनिधि निर्वाचित भएर आएपछि आवश्यक बजेट व्यवस्था गरेर क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्कलाई पूणर्ता दिएर सञ्चालनमा ल्याएको हो ।

ब्रिटिस सेना (बेलायती सेना)को जागिर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालीन राणा सरकारले क्रान्ति नायक राईको कमाण्ड (नेतृत्व)मा खोटाङबजारमा सेना खटाएको थियो । सो टुँडिखेलमा क्रान्ति नायक राईले वि.सं. २००५ सालतिर समी, लाकुरी, सिमल र भगवती माविको प्राङ्गणमा करवीर फूल रोप्नुभएको प्रधानाध्यापक कुमार पराजुलीले बताउनुभयो ।

क्रान्ति नायक राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडिखेलको किनारामा रोप्नुभएको जनाइएको छ । क्रान्ति नायक राई राणाविरोधी सशस्त्र सङ्घर्षमा पूर्वी नेपालमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर रहनुभएको थियो ।

वि.सं. २००७ सालमा क्रान्ति नायक राईकै कमान्डमा भोजपुर अड्डा कब्जा भएको इतिहासमा उल्लेख छ । नेपाल सरकारले वि.सं. २०७५ पुस- १५ क्रान्ति नायक राईको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरिसकेको छ ।

जवानबाट बढुवा हुँदै लेफ्टिनेन्ट बन्नुभएका राईले खोटाङबजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर (भोजपुर) फर्किएर राणा विरोधी गतिविधि शुरू गर्नुभएको थियो । खोटाङबजार छाड्नुअघि क्रान्ति नायक राई ‘वर्ष दिनभित्र देशमा उथलपुथल हुन्छ’ भन्दै भोजपुरतर्फ हिँडेको स्थानीय बासिन्दाहरुले बताउँदै आएका छन् ।

क्रान्ति नायक राई छिमेकी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिका-७ बासिखोरामा बाबु धोजवीर राई र आमा रत्नमायाँ राईको कोखबाट वि. सं. १९६५ फागुन-१८ गते जन्मनुभएको थियो । प्रजातन्त्र स्थापनापछि वि. सं. २००८ साल अन्तरिम प्रधानमन्त्री मोहनशमशेर राणाको निर्देशनमा पक्राउ पर्नुभएका क्रान्ति नायक राई हालसम्म बेपत्ता हुनुहुन्छ । तस्वीर उपलब्ध छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार ००:००  ८ : ३४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली