१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगलागी पीडित मगरलाई तीन संस्थाले उपलब्ध गरायो राहत

आगलागी पीडित मगरलाई तीन संस्थाले उपलब्ध गरायो राहत



खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका आगलागी पीडित मानबहादुर मगरको परिवारलाई तीन संस्थाले आर्थिक सहयोग तथा राहत सामग्री उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङ, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष खोटाङ र जनजागरण टोल सुधार समिति खार्मी लेखगाउँले मङ्गलबार आगलागी पीडित मगरको परिवारलाई आर्थिक सहयोग तथा राहत सामग्री उपलब्ध गराएको हो ।

यही जेठ–३ गते भएको आगलागीबाट पूर्णरुपमा घर जलेर क्षति व्यहोरेका मगर परिवारलाई टोल सुधार समितिले रु दश हजार ५००, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले रु दश हजार र रेडक्रसले त्रिपाल, कम्बल, म्याट, भाँडाकुडा, लुगा सिलाउने कपडा लगायतका सामग्री उपलब्ध गराएको छ । रेडक्रस र खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले उपलब्ध गराएको आर्थिक सहयोग र राहत सामग्री दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक सहयोग तथा राहत सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर उपप्रमुख राईले नगरपालिकाको तर्फबाट रु ५० हजार, त्रिपाल र घर निर्माण गरेरपछि छाना लगाउनका लागि जस्तापाता उपलब्ध गराउने वचन दिनुभएको छ । आर्थिक सहयोग तथा राहत सामग्री वितरणका लागि नगर उपप्रमुख राईको नेतृत्वमा रेडक्रस खोटाङका उपमन्त्री पर्शुराम विश्वकर्मा, खार्मी उपशाखाका सभापति पदम लामा, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगशन किराँत, नेपाली काँग्रेस खोटाङका सदस्य श्यामकुमार राई, नेकपा (एकीकृत समाजवादी)का जिल्ला सदस्य हर्कराज राई, पत्रकार लगायतको टोली खार्मीस्थित पीडित मगरको पुगेको थियो ।

घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएको आगोले मगर परिवारको स्तापाताको छाना भएको चारतले घर, नगद रु ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा रु ३२ लाखभन्दा बढीको क्षति भएको प्रहरीको सर्जमिन मुचुल्कामा उल्लेख छ । दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको बाँझोबारीस्थित नयाँबस्तीका मगरको घरमा लागेको आगो करिब स्थानीय बासिन्दा र प्रहरीले पाँच घण्टापछिमात्र नियन्त्रणमा लिएको थियो ।

श्रीमान÷श्रीमती दुईजनामात्रै बस्दै आउनुभएको मगर दम्पतीको घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि उहाँहरु बिचल्लीमा पर्नुभएको छ । आगलागीका कारण घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाउनुभएका आगलागी पीडित मगर दम्पतीलाई तत्कालका लागि सोही स्थानका राजकुमार राईको घरमा खानेबस्ने व्यवस्था मिलाइएको खार्मीका वडाध्यक्ष ईखबहादुर राईले जानकारी दिनुभएको छ ।

यसैबीच, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष खोटाङले सोही नगरपालिकाको वडा नं. ६ नेर्पाका चट्याङ पीडित डिल्ली राईको परिवारलाई रु सात हजार आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम मङ्गलबार नै नेर्पाका वडाध्यक्ष मात्रव राई र कोषका अध्यक्ष भोगेन्द्र राई ‘एक्ले’ले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

वि.सं. २०७२ सालमा खोटाङ सेवा समाज हङकङको सक्रियतामा आर्थिक सङ्कलन गरेर वि.सं. २०७४ सालदेखि खोटाङ जिल्लामा राहतस्वरुप सहयोग रकम वितरण गर्दै आएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका करिब एक हजारजना पीडितलाई सहयोग गरिसकेको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङ लगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोष स्थापना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार ००:००  ११ : ०९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली