८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारिताको नाममा जथाभावी लेख्ने गिरी विद्युतीय अपराध मुद्दामा पक्राउ

पत्रकारिताको नाममा जथाभावी लेख्ने गिरी विद्युतीय अपराध मुद्दामा पक्राउ



खोटाङ । पत्रकारिताको नाममा सामाजिक सञ्जाल फेसबुकमार्फत जथाभावी लेख्ने तथा भिडियो कलमा अपशब्द बोल्दै आएका हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका मनोज गिरी पक्राउ परेका छन् । किर्ते कागजात पेशगरी हलेसीपाटी डटकम नामको अनलाइन दर्ता गरेपनि उक्त अनलाइनमा समाचार नलेखी आफ्नो व्यक्तिगत फेसबुक पेजमार्फत जथाभावी स्टाटस लेखेर तथा भिडियो कलमार्फत अपशब्द बोलेर सामाजिक सद्भाव भड्काउनुका साथै व्यक्तिको चरित्र हत्या गर्नेजस्ता गतिविधि गर्दै आएका गिरीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

विद्युतीय अपराध गरेको आरापमा स्थानीय एलोन राईले गत भदौ-१९ गते दिनुभएको जाहेरीको आधारमा गिरीलाई काठमाडौँमा लुकीछिपी बसेको अवस्थामा धापाखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । “विद्युतीय अपराध सम्बन्धी कसूरमा गिरीबिरुद्ध मुद्दा दर्ता गरेर जिल्ला अदालत खोटाङबाट पक्राउ पुर्जी जारी गरेपछि आरोपित गिरी फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएर गएको टोलीले शनिबार काठमाडौँबाट पक्राउ गरेर गाडीमार्फत आज (आइतबार) जिल्ला प्रहरी कार्यालय ल्याइपुर्‍याएको छ”, उहाँले भन्नुभयो, “अब अदालतबाट म्याद थप गरेर कानूनी कारबाहीको प्रक्रिया शुरु गर्छौँ । जिल्लामा विद्युतीय अपराध सम्बन्धी कसूरमा परेको यो पहिलो मुद्दा पनि हो । अनुसन्धान गरेर कानून बमोजिम कारबाही हुन्छ ।”

गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत गत साउन-२० गते एकल महिलामाथि आँच आउने किसिमको स्टाटस लेखेर महिलाहरुको मानमर्दन गरेको भन्दै स्थानीय १८ वर्षीय राईले झण्डै महिना दिनपछि प्रहरीमा उजुरी दिनुभएको थियो । गिरीबिरुद्ध राईले दिनुभएको उजुरी प्रहरीले चार दिनपछि भदौ-२२ गते दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी लिएसँगै ईलाका प्रहरी कार्यालय हलेसीबाट पक्राउ गर्न प्रहरी टोली खटिए पनि आफन्तले प्रतिकार गर्दै संरक्षण गरेका थिए ।

आफन्तको रोहबरमा ईलाका प्रहरी कार्यालय हलेसीमा हाजिर हुने सर्तमा पक्राउ गर्न गएका प्रहरी टोलीबाट छुटेका गिरीले भदौ-२६ गते भागेर काठमाडौँ पुगेका थिए । विद्युतीय कारोबार ऐन २०६३ अनुसार पक्राउ गरेका गिरीलाई तीन वर्षसम्म कैद सजाय तथा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

पक्राउपछि जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा रहेका गिरीले अर्काको शैक्षिक योग्यताको प्रमाणपत्र फोटोसपमार्फत आफ्नो नामको बनाएर हलेसीपाटी डटकम नामको अनलाइन दर्तागरी सञ्चालन गर्दै आएका छन् । गिरीले समाचारभन्दा पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर अधिकांश व्यक्तिलाई गाली गर्ने, होच्याउने, मानमर्दन गर्ने र ‘सबथोक मै हुँ’ भन्ने शैलिमा स्टाटस लेख्नेजस्ता गतिविधि गर्दै आएका थिए ।

गिरीले जिल्लामा क्रियाशील अरु पत्रकार बिरुद्ध ‘पार्टीको झोले’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा तथानाम गाली लेख्ने गरेका थिए । गिरीले सोही स्थानका कुभेसचन्द्र गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र (स्नातक तहको प्रमाणपत्र)लाई फोटोसपमार्फत आफ्नो नामको बनाएर प्रयोग गरेकामा किर्ते जालसाजी मुद्धा अन्तरगत जिल्ला अदालत खोटाङबाट वि.सं. २०७९ माघ-१९ गते दोषी ठहर भइ २० दिन कैद र रु तीन हजार जरिवाना सजाय भोगिसकेका छन् ।

गिरीले पत्रकारिताको गरिमामाथि आँच पुर्‍याएको भन्दै नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङले गत भदौ-२० गते संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता पालना गर्न सचेत गराएको थियो । गिरीले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, अरुको मानमर्दन गर्ने, खेदो गर्ने, ‘म पत्रकार हुँ’ भन्दै थर्काउने, गालीगलौज गर्ने र बिना अनुमति टेलिफोन सम्वाद रेकर्ड गरेर सामाजिक सञ्जाल फेसबुकमा राख्ने गरेकोप्रति पत्रकार सम्वद्ध सङ्घ/सङ्ठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार ००:००  ८ : १२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली