५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूलुक चौतर्फी सङ्कटमा फसेको छ : एमाले उपमहासचिव ज्ञवाली

मूलुक चौतर्फी सङ्कटमा फसेको छ : एमाले उपमहासचिव ज्ञवाली



खोटाङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुक चौतर्फी सङ्कटमा फसेको बताउनुभएको छ । एमाले खोटाङले शनिबार साँझ दिक्तेलमा आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् कोशी प्रदेशका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिने कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै उपमहासचिव ज्ञवालीले यस्तो दाबी गर्नुभएको हो ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका उपमहासचिव ज्ञवालीले वर्तमान गठबन्धन सरकार सत्ता टिकाउनमात्र लागिपरेको आरोप लगाउनुभएको छ । “मूलुकमा विकास÷निर्माणका काम ठप्प छन् । काम सम्पन्न गरेका ठेकेदारले भुक्तानी पाएका छैनन् । गठबन्धन दलमा आवद्ध नेताहरु भ्रष्टाचारमा संलग्न छन् । राज्यको ढुकुटी रित्तिएको छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकार सत्ता टिकाउनमात्र लागिपरेको छ । राष्ट्रियता सङ्कटमा पर्दै गएको छ । हामी भूराजनीतिक चपेटामा फस्दै गएका छौँ ।”

वर्तमान सरकारले भ्रष्टाचारको छानबिन गर्ने भनेर नाटक मञ्चन गरिरहेको पनि उहाँले आरोप लगाउनुभएको छ । “छानबिन गर्दै जान्छ । भ्रष्टाचार गर्ने व्यक्तिको नजिक पुगेपछि रोकिन्छ । भ्रष्टाचार सम्बन्धीका मुद्धामा छानबिन गर्ने भन्ने यो सरकारको नाटकमात्र हो”, उहाँले भन्नुभयो, “वर्तमान सरकार खासखासका विदेशी शक्तिहरुलाई रिझाउने र खासखासका शक्तिहरुलाई चिँढ्याउने काममा लागेको छ । महङ्गी बढेको छ । हामीले ७५३ वटै स्थानीय तहमा निर्माण शुरु गरेका हस्टिलका काम ठप्प छ । मूलुकमा देखिएका चौतर्फी सङ्कट चिर्न हाम्रो पार्टी एमाले लागिपरेको छ ।”

उपमहासचिव ज्ञवाली पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर पहिलो हप्ता गर्न लाग्नुभएको मध्यपहाडी लोकमार्ग केन्द्रित बृहत अभियानको पूर्व तयारी स्वरुप दिक्तेल आइपुग्नुभएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिनुभयो । उपमहासचिव ज्ञवालीले पार्टी अध्यक्षले गर्न लाग्नुभएको अभियान राजनीतिकमात्र नभइ सामाजिक र साँस्कृतिक भएको दाबी गर्नुभएको छ ।

भोजपुर हुँदै खोटाङ आउनुभएका उपमहासचिव ज्ञवालीसँगै एमाले प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी लगायतका नेताहरु सहभागी हुनुहुन्छ । नेताहरुले भर्खरै सम्पन्न पार्टीको प्रदेश अधिवेशनमा खोटाङबाट निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

गत असोज–१२ र १३ गते विराटनगरमा सम्पन्न एमालेको प्रथम प्रदेश अधिवेशनमा खोटाङबाट एक उपसचिव र एक लेखा आयोगको सचिवसहित ११ जना नेताहरु निर्वाचित भएका छन् । उपसचिवमा देवान राई, लेखा आयोगको सचिवमा ओमप्रकाश घिमिरे तथा प्रदेश समिति सदस्यमा खडेन्द्र राई, विणादेवी राई, चर्चबहादुर विश्वकर्मा, कमल बुढाथोकी, प्रभातबिक्रम कटवाल, राजन ढकाल, सुनिल राई, दिलकुमारी राई र पुष्पकला भुजेल निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार ००:००  १ : ३८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली