८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा तीन हजार ७३५ मेट्रिकटन सुन्तला उत्पादन

खोटाङमा तीन हजार ७३५ मेट्रिकटन सुन्तला उत्पादन



खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३७ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । प्रतिकेजी र १०० का दरले हिसाब गर्दा  ३७ करोड ३५ लाख बराबरको सुन्तला निर्यात भएको पाइएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ८१० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा सुन्तला खेती गर्ने गरिएको छ । जिल्लामा यो वर्ष तीन हजार ७३५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये यो वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा सुन्तला उत्पादन भएको कृषि प्रसार अधिकृत पण्डितले जानकारी दिनुभएको छ । “जिल्लामा अहिले ७४२ हेक्टर क्षेत्रफल जमिनमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिकटन बढी उत्पादन भएको देखिन्छ”, उहाँले भन्नुभयो, “आगामी वर्ष थप वृद्धि हुँदै जानअनुमान गरिएको छ । कृषकले उत्पादन गरेको सुन्तलाले राम्रो बजार पाएसँगै व्यवसायिकरुपमा खेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।”

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङबाट मात्रै यस वर्ष रु एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय बासिन्दा एवम् युवा कृषक जगत राईले दाबी गर्नुभएको छ । “हाम्रो वडाको फगतपुर, चोभे, सातमारा, केराबारी लगायतका ठाउँहरुमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ । यस वर्ष रु एक करोडभन्दा बढीको निर्यात गरेका छौँ”, उहाँले भन्नुभयो, “कसैले आफैले बजारसम्म पु¥याएर बिक्री गरे भने, कसैको बगानमै ठेकेदार आएर खरिद गरेका छन् । मैले चाहिँ आफैले सुनसरीको इटहरी र उदयपुरको बेल्टार, सप्तरीको फत्तेपुर लगायतका बजार पु¥याएर रु छ लाखको बेचेँ । यो वर्षभन्दा अर्को वर्ष अझै उत्पादन बढ्ने अपेक्षा गरेका छौँ ।”

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित घोर्ले भन्ने एउटै गाउँबाट एक करोड बढीको सुन्तला निर्यात भएको स्थानीय कृषकहरुले बताएका छन् । उक्त वडाको वाचिपाला, खुुटा लगायतका गाउँबाट पनि उत्तिकै मात्रामा सुन्तला निर्यात भएको जनाइएको छ ।

जन्तेढुङ्गा गाउँपालिकामा कातिक अन्तिम हप्ताबाटै सुन्तला पाक्ने गरेकाले पनि राम्रो बजार पाउने गरेको राईले जानकारी दिनुभएको छ । जन्तेढुङ्गाका कृषकले लगाएका सुन्तला खेतीमा अहिलेसम्म रोगसमेत नदेखिएको बताइएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा सुन्तला खेती गर्ने रामबहादुर कुँवरको बगानमा यो वर्ष असिनाले क्षति पु¥याएकाले गत वर्षको तुलनामा आधामात्र उत्पादन भएको जनाइएको छ । कुँवरले गत वर्ष रु नौँ लाखको सुन्तला बेचेको बताउनुभएको थियो ।

आफूले उत्पादन गरेको सुन्तला दिक्तेल बजार र गाईघाटमा प्रतिकेजी  ११० देखि १३० सम्ममा बिक्री भइरहेको कुँवरले बताउनुभएको छ । “यो वर्ष सुन्तलाबाट कम्तिमा पनि  २० कमाउने इच्छा थियो तर, असिनाले खत्तम गरिदियो । मैले ४०० बोट सुन्तला लगाएको छु । अहिले १३० बोटले उत्पादन दिन थालेको छ”, उहाँले भन्नुभयो, “अर्को वर्ष अरु बोटले पनि उत्पादन दिन्छ । अन्य खेतीभन्दा सुन्तला खेती गर्न सजिलो र बढी आम्दानी दिने भएकाले यो वर्ष थप ४०० बोट बिरुवा रोप्ने योजनामा छु ।”

रावाबेँसी गाउँपालिकामा पनि यस वर्ष सुन्तला उत्पादन राम्रै भएको वडा नं. २ खार्पाका स्थानीय कृषक राजबहादुर मगरले बताउनुभएको छ । “सुन्तलाबाट आएको आम्दानीले वर्षभरि माछा–मासु खान र घर खर्च पुग्छ । यसअघि रोगले गर्दा धेरै क्षति भएको थियो”, उहाँले भन्नुभयो, “केही वर्षदेखि बगानमा देखिएको रोग गत वर्ष नियन्त्रण गर्ने प्रयास गरेका थियौँ । केही हदसम्म सफल पनि भएका छौँ । सम्भवतः आगामी वर्षदेखि धेरै समस्या नदेखिएला भन्ने लागेको छ । रोग देखिएन भने राम्रो उत्पादन हुन्छ ।”

जिल्लाका अन्य स्थानीय तहका कृषकहरुले पनि सुन्तलाबाट राम्रो आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । जिल्लामा यातायातको सुविधा सहज भएपछि बजारसम्मको सिधा पहुँच विस्तार भएसँगै सुन्तला खेतीप्रति किसानको आकर्षण बढेको कृषि प्रसार अधिकृत पण्डितले जानकारी दिनुभयो ।

जिल्लामा उत्पादित सुन्तला जिल्लाभित्रकै हाटबजार तथा धरान, बिराटनगर, काठमाडौँ लगायतका शहरहरुमा निर्यात हुने गरेको पाइएको छ । जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढी बाहिरी जिल्लाबाट आएका ठेकेदारले खरिद गर्ने गरेका छन् ।

जिल्लामा उत्पादित सुन्तला स्वादिलो र रसिलो हुने भएकाले बजारको समेत समस्या नभएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभएको छ । “सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि जिल्लाका धेरै कृषकले व्यावसायिकरुपमा सुन्तला खेती गर्न थालेका छन् । जिल्लामा उत्पादित सुन्तला स्वादिलो र रसिलो छ”, उहाँले भन्नुभयो, “बजारको समेत समस्या छैन । आगामी दिनमा व्यवसायिकरुपमा खेती गर्ने कृषकका लागि सुन्तला ठूलो आर्थिक आम्दानीको स्रोत हुने अनुमान गरेका छौँ ।”

सुन्तला खेती गर्ने कृषकका लागि कृषि ज्ञान केन्द्रले समेत सहयोग गरिरहेको छ । जिल्लाका हरेक स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा सुन्तला खेती विस्तार तथा प्रवद्र्धनका कार्यक्रम बनाएर लागू गरेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ००:००  ७ : ५८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली