८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिश, नाबालक परिचयपत्र प्रदान लगायतका सम्पूर्ण प्रशासनिक सेवा रोकिएको छ

खोटाङका दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध

दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिश, नाबालक परिचयपत्र प्रदान लगायतका सम्पूर्ण प्रशासनिक सेवा रोकिएको छ

खोटाङका दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध



खोटाङ । नेपाल सरकार, गृह–मन्त्रालयले शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा खोटाङका दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ । इलाका प्रशासन कार्यालय ऐसेलुखर्कको गत मङ्सिर–१८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस–२४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो ।

अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिश, नाबालक परिचयपत्र प्रदान लगायतका सम्पूर्ण प्रशासनिक सेवा रोकिएको छ । ऐसेलुखर्कका नायब सुब्बा राजेन्द्र भुर्तेलको कायममुकायम शाखा अधिकृत अवधि मङ्सिर–१७ गते सकिएपछि दैनिक सेवा प्रभावित भएको हो ।

इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध हुँदा गाउँपालिकाका सातवटै वडाका नागरिक डेढ महिनादेखि मारमा परेको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राई बताउनुभएको छ । इलाका प्रशासन कार्यालय ऐसेलुखर्कबाट नागरिकता सिफारिश लगायत प्रशासनिक सेवा रोकिएपछि प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ऐसेलुखर्क पुगेर पुस–४ र ५ गते सेवा दिनुभएको थियो ।

नासु भुर्तेलको कायममुकायम अवधि सकिएकै दिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई कायममुकायम अवधि सकिएको जानकारी दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको समाचार स्रोतले जनाएको छ । “शाखा अधिकृतको व्यवस्था गर्न वा कायममुकायम अधिकृत नियुक्त गरिदिन पुस–१६ गते पनि मन्त्रालयलाई पत्राचार गरेका थियौँ । तर, हालसम्म पत्रको सुनुवाइ भएको छैन”, जिल्ला प्रशासन कार्यालका एक अधिकृतले भन्नुभयो, “गृह–मन्त्रालयले दीर्घकालीन समस्या समाधान गर्नुपर्छ । म्यादी शाखा अधिकृत अधिकृतको जिम्मेवारी दिइरहे पुनः समस्या दोहोरी रहन्छ ।”

यस्तै, गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय, खोटाङ बजारमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई छ महिनाका लागि दिएको कायममुकायम अवधि सकिएपछि नागरिकता वितरण लगायतका प्रशासनिक सेवा रोकिएको छ । यसअघि शाखा अधिकृत नहुँदा गत असार–२६ गतेदेखि इलाका प्रशासन कार्यालयको सेवा रोकिएको थियो ।

गृह–मन्त्रालयले बढीमा छ महिनाका लागि नासु राईलाई कायममुकायम मुकर्रर गरेर पत्र पठाएपछि साउन–२२ गतेदेखि नागरिकता वितरण लगायत सेवा  शुरू गराइएको थियो । सो कायममुकायम अवधि पुस–२० गते सकिएको जनाइएको छ ।

कार्यक्रमका सिलसिलामा खोटाङ बजार पुग्नुभएका प्रमुख जिल्ला अधिकारी सुनारले पुस–२१ र २२ गते नागरिकता जारी गर्नुभएको थियो । खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका छन् ।

इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरु काम नगरी फर्कन बाध्य भएको नेपाली काँग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताउनुभयो । “पुस–२४ गते इलाका प्रशासन कार्यालय खोटाङबजार पुगेको थिएँ । त्यो दिन २२ जना सेवाग्राही काम नगरी फर्कन बाध्य भएका थिए”, उहाँले भन्नुभयो, “यो म्यादी कार्यालयबाट कहिलेदेखि जनताले ढुक्कसँग सेवा लिन पाउने ? एकैदिन २२ जना सेवाग्राही काम नै नगरी फर्किनु परेको दुःखद खबर छ । कतिको, कति अप्ठ्यारो परिस्थिति पनि हुन्छ । खोइ त सरकारले कुरा बुझेको ?”

मन्त्रालयले इलाका प्रशासन कार्यालयमा जिम्मेवार कर्मचारीको व्यवस्था नगर्दा अत्यावश्यक कामका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालय दिक्तेल पुग्नुपर्ने बाध्यता छ । इलाका प्रशासन कार्यालयको सेवा पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल भइरहेको खोटेहाङ गाउँपालिका प्रमुख उदिम राई ‘मुक्ति’ले बताउनुभएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार ००:००  १ : ३४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली