खोटाङ, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिको अध्यक्षमा पुनः दीपेन थुलुङ दोहोरिनुभएको छ । माओवादी केन्द्र खोटेहाङ गाउँपालिका कार्यसमितिको बिहीबार सम्पन्न दोस्रो पालिका सम्मेलनले थुलुङलाई दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी दिएको हो ।
सर्वसम्मत् चयन गरिएको ३५ सदस्यीय गाउँपालिका कार्यसमितिको उपाध्यक्षमा ईन्द्रहाङ किराँती र सुरेन्द्र अधिकारी, सचिवमा किरण राई, सहसचिवमा पारस राई र कोषाध्यक्षमा कमला विश्वकर्मा चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सम्मेलनका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काम्बाङले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ ।
सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता काम्बाङले नेपालमा श्रमजीवि वर्गको पार्टी नेकपा (माओवादी केन्द्र)मात्रै रहेको बताउनुभएको छ । “सबै नागरिकले राजनीति बुझ्न आवश्यक छ । राजनीति बुझेको मानिसलेमात्र सच्चा नेतृत्व चयन गर्न सक्छ । सच्चा जनप्रतिनिधि चयन गरिएको खण्डमा मात्र शुसान कायम हुन्छ”, उहाँले भन्नुभयो, “भ्रष्टाचारमुक्त समाज निर्माणमा माओवादी केन्द्र सदैव लडिरहन्छ । त्यसैले भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन कायम गर्न माओवादी केन्द्रमा लामवद्ध हुन सबै नागरिकमा हार्दिक अपिल गर्दछु ।”
सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, प्रदेश उपाध्यक्ष देवान किराँती ‘पृथ्वी’, सदस्य होमकाजी आचार्य ‘विनोद’, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ लगायतको उपस्थिति रहेको थियो । माओवादी केन्द्रको दोस्रो पालिका सम्मेलन उद्घाटन कार्यक्रममा गाउँपालिकाभित्रका १५ जना जेष्ठ कम्युनिष्ट नेताहरुलाई सम्मानसमेत गरिएको जनाइएको छ ।