३१ जेष्ठ २०८१, बिहिबार | Fri Jun 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनेको, देखेको र भोगेको : विकास केही त भएकै छ

सुनेको, देखेको र भोगेको : विकास केही त भएकै छ



भिम राई

आज भन्दा २०/२५ बर्ष अगाडि खोटाङ जिल्लालाई पूर्वको कालिकोट भनिन्थ्यो । जुनबेला खोटाङ जिल्लामा मोटरबाटोको नाममात्र सुनिएका थिए । खोटाङ जिल्लाका लागि सगरमाथा राजमार्ग आउँदै छ । गाईघाट हुँदै खोटाङ दिक्तेल बाट सोलुसम्म जोड्नेबाटोको शिलान्यास भएको त्यही समय हो । मोटरबाटोको सपना त्यसबेला देखियो जुनबेला खोटाङ जिल्लालाई सबैभन्दा नजिकबाट मोटरबाटोले छुनसक्ने स्थान त्यहि थियो । त्यसबेला बोलिने माथिल्लो सगरमाथाका ३ वटा जिल्ला खोटाङ, सोलुखुम्बु र ओखलढुँगालाई सडकले छुृने सम्भावनाको तिब्र खोजिको समय थियो त्यो बेला । खोटाङका आम मानिसहरु नुन, तेल र फलामहरु खरिद गर्न तराईका बजारहरुनै पुग्नु पर्ने अवस्था थियो । त्यसबेला गाईघाट, बेल्टार, कटारी, धरान पुग्नुपर्ने अवस्था अहिले कथा जस्तैमात्र हुन्छ । ती भोगाई वितेको धेरै समय वितेकै छैन । अहिलेका युवापुस्तासम्म आईपुगेकै कथा हुन् यी ।

तीनै समयक्रममा ओखलढुँगाकालागी उदयपुरको कटारीबाट मोटरबाटो खन्नेकामको शुरुवात भयो । ओखलढुँगामा तत्कालिन नेपाली कांग्रेसका तत्कालिन नेता तथा सांसद नेता बलबहादुर राई रहेका थिए । यो बाटोले कच्ची नै भएपनि उदयपुरको घुर्मीसम्म नुनतेल ल्याईदिएको थियो । त्यहि बेला खोटाङको उत्तरीभेग र सोलुका केही भुभागका मानिसहरुकालागि केही राहत मिलेको थियो । यसपछि खोटाङलाई मोटरबाटोसँग छिटो भेटाउने अवसरपनि जुरेको थियो । त्यहिबेला खोटाङमा तत्कालिन नेकपा एमालेको तर्फबाट जिल्लाका माननीय टंक राई र अशोक राई रहेका थिए । अशोक राई तत्कालिन एमालेका अल्पमतको सरकारका श्रम तथा यातायातमन्त्री समेत रहेकाबेला शिलान्यास भएको गाईघाट दिक्तेल मोटरबाटोको काम सुस्तगतिमा अघि बढिरहेको थियो । उता कटारी- ओखलुढुँगा जोडिने बाटोले कच्ची यात्रामा ओखलढुङगाको सदरमुकाम भेटिसेकेको थियो ।

यता खोटाङ भने चुपचाप ढाकरमा नुन ओसारी रहेको थियो । यसै मेसोमा खोटाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का तत्कालिन सासंद टंक राईले नया अवधारणाका साथ ओखलढुङ्गाको हिलेबाट खोटाङको हलेसी हुँदै दिक्तेल जोड्ने मोटरबाटोको खन्ने योजना सार्वजनीक गरे । त्यसबेलासम्म खोटाङबाट राजधानी काठमाडौं सम्मको यात्रा निकै कठिनाईको थियो । छोटोदुरीको बाटोका बारेमा परिकल्पना पनि नभएको अवस्थामा काठमाडौंबाट सिन्धुली खुर्कोटहुँदै घुर्मी जोड्ने र घुर्मीबाट हिलेपानी हुँदै हलेसी दिक्तेल जोड्नेबाटो योजनाले मुर्त रुपलिन पाउने अवसरको सिर्जना भयो । तत्कालिन समयमा खोटाङ जिल्लाले जिल्लाविकास समिति मार्फत ७६ वटै गाउँ विकास समितिको सहकार्यमा आफैले बाटो खन्नेकामको शुरुवात भयो । हिलेपानीबाट शुरुभएको बाटोले जिल्लामा उत्साह भरियो । त्यसको केही समयपछि खोटाङ जिल्लामा अपर सगरमाथा कृषि सडकको कार्यक्रम लिएर आयो । यसले विस्तारै सडकको विस्तार गर्ने कामको शुरुवात गरायो ।

सडकको पहुँचमा आउन जिल्लालाई भाषणको कुनै दुख थिएन । तत्कालिन राष्ट्रिय पञ्चायताका विरेन्द्र केशरी पोख्रेल, पर्शुराम राईहरु देखि शुरुभएको मोटरबाटोको कथालाई माथिल्लो सगरमाथा कृषि सडक आयोजना, ग्रामिण पहुँच कार्यक्रम (र्‍याप) हुँदै अहिले मध्यपहाडी लोकमार्गसम्म आईपुग्दा जिल्लमा यातायातको कथा अझै सकिसकेको त छैन तर सन्तोष गर्न सकिने निकै ठाउँहरु अवश्य छन् । हेलिकप्टर मार्फत मालबाहक मिनिट्रक र यात्रुबाहक बोलेर जिप भित्र्याउने खोटाङ जिल्लामा अहिले व्यापक सुधार भएको छ ।

त्यसबेला जिल्लाको सदरमुकाम सम्म कसरी यातायात पुर्‍याउने भन्ने चिन्ता अहिले कसरी आफ्नो घरको आगनमा मोटरसाईकल पार्क गर्ने भन्नेमा बदलिएको छ । उदयपुरको बेल्टार, गाईघाट, कटारी, घुर्मी पुगेर खाद्यन्न र नुनतेल ल्याउने हाम्रो चेतनाले अहिले घरको करेसोमा समान कसरी झार्ने भन्नेमा केन्द्रित हुन थालेको छ । सबैले यातायातको साधनको प्रयोग गरेर सेवासुविधा प्राप्त गरिएकै छ । यातायात पहिलो कुरा भयो । यो सँगै विकासका अरु असंख्य उपलब्धिहरुपनि भएका छन् । शिक्षामा, स्वास्थ्यमा उतिकै सुधार भएका छन् । विभिन्न पेशा व्यवसायमा उतिकै सुधार छ । तर हाम्रो चिन्तन र प्रणालीमा भने कुनै सुधार हुन सकेको छैन । विकास हामीले सुनेका थियौँ । सुनेको विकास पाएका छौँ तर उपयोगिताको हिसाबले भने हामी फेरी उहि पुरानैदिनमा रहेका छौँ ।

मानिसहरुको घरघरमा विजुली बत्ती बल्छ । गाउँमा बलेको बिजुली बत्तीले गाउँको टुकी बत्ति विस्थापित गर्न बाहेक अरु केहीमा प्रयोग गर्न नसकिएको यर्थात हाम्रो सामुमा छ । संचारको क्षेत्रमा रेडियो नेपाल सुन्ने र गोरखापत्र पढ्ने बाहेक नभएको समयलाई छिचोलेर ईमेल ईन्टरनेट चलाउने युगमा समयले ल्याई पुर्‍याउँदा समेत हामी फेसबुकमा प्रेमपत्र कोरीरहेका छौँ । कस्तो विढम्बना छ हाम्रो चेतना ?

विभिन्न तहका सरकार छन् । सरकारले हामीलाई खाली विकासको नाममा सडक दियो । विद्यालयको भवन दियो । नया नया भौतिक पुर्वाधारहरु दियो । मठ मन्दिर, कृतिम पोखरी, भ्यु टावर दियो । कृषिकर्म गर्न प्लाष्टिक पोखरी, प्लाष्टिक टनेल, रासायनीक मल, सबै दियो । तर हामीलाई उचित चेतना दिन नसक्दा सबै बेकम्मा भएका छन् । बाटो दियो बुद्धी दिएन । विद्यालयको भवन दियो सहि शिक्षा दिएन । अरु थुप्रै सिमेन्ट, बालुवा, फलामे रड, प्लास्टिकका सामग्रीहरु त दियो त्यसको सहि ढंगले परिचालन गर्ने क्षमता दिएन । हामीले सोचेको विकास, देखेको विकास र भोग्नुपर्ने विकासमा यतै कतै फरक परेको छ । यसलाई आगामी दिनमा सबै मिलेर खोज्न पहल गरौँ ।
साभार- हलेसी खबरबाट

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार ००:००  ९ : ०७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली