८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माणाधीन मोटरेबल पक्की पुल ढलानको तयारी

निर्माणाधीन मोटरेबल पक्की पुल ढलानको तयारी



खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीबाट केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजार जोड्ने सडकखण्डमा पर्ने तापखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल ढलानको तयारी शुरु गरिएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नम्बर -१ प्रदेश यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम उदयपुरको लगानीमा तापखोलामा मोटरेबल पक्की पुल निर्माणको काम शुरु गरिएको हो ।

भ्याटसहित सात करोड ६१ लाख २४ हजार ५ सय ४३ बजेटमा पूरा गरिने तापखोलाको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाई र ८.४० मिटर चौडाईको हुने जनाइएको छ । रौता-रोशन-सुशम-आदित्य जेभीले निर्माणको काम जिम्मा लिएको मोटरेबल पक्की पुल सम्पन्न गर्नुपर्ने मिति गत २०७८ मङ्सिर-७ गते नै सम्पन्न भएपछि पूर्वाधार विकास कार्यक्रम उदयपुरले पुनः छ महिनाको समय दिएको छ ।

तापखोलामा निर्माणाधीन पक्की पुल तोकिएको मितिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइए पनि कोरोना भाइरसका कारण समयमा सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीका प्रतिनिधि लक्ष्मण बस्नेतले बताउनुभएको छ । “अहिले दुवैपट्टीको पिल्लरको काम सम्पन्न गरेर बिम र स्ल्याप ढलान गर्न फलामे डण्डी ठड्याउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी चैत मसान्तभित्र सम्पूणर् काम सम्पन्न गरेर हस्तान्तरण गर्ने योजनामा छौँ ।

तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न गर्न र गुणस्तर कायम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिने काम भइरहेको प्रदेशसभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिट ब्यूरो सदस्य राजन राईले बताउनुभयो । “भौतिक प्रगति हेर्दा तोकिएको समयमै पुलको काम सम्पन्न हुने देखिन्छ”, उहाँले भन्नुभयो, “तापखोलामा निर्माणाधीन पुलसँग उत्तरपूर्वी क्षेत्रका जनताको भविष्य जोडिएकाले समयमा सम्पन्न गर्न र गुणस्तर कायम गर्न पटकपटक खबरदारी गर्ने गरेको छु ।”

वि.सं. २०६६/०६७ सालमा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल-खार्मी-बाक्सिला सडकखण्डको तापखोलामा ढिलै भएपनि पक्की पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । वि.सं. २०६६ सालमा साविक खार्मी गा.वि.स.को रु १४ लाख बजेटबाट निर्माण शुरु गरिएको सो दिक्तेल-खार्मी-बाक्सिला सडक वि.सं. २०७७ सालमा पूरा गरेर सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट १५ किलोमिटर टाढा पर्ने खार्मी क्षेत्रको सडकखण्डमा यसपटक वडाको रु दश र नगरपालिकाको रु १५ लाख बजेटमा स्तरोन्नतिको काम भइरहेको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म ढुवानीका सवारी साधन मात्र सञ्चालन हुँदै आएको सो दिक्तेल-खार्मी-बाक्सिला सडक खण्डमा बिगत चार वर्षदेखि नियमित बस तथा सुमो सेवासमेत सञ्चालन भइरहेको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभएको छ ।

हिउँदभर करीब छ महिनामात्र सञ्चालन हुने सो सडक खार्मीको अधिकांश क्षेत्रका स्थानीय बासिन्दासँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङ लगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल-खार्मी-बाक्सिला सडक स्तरोन्नतिका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर लगानी गर्ने काम भइरहेको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

दिक्तेल बजारबाट खार्मी हुँदै बाक्सिला भएर भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्र्याक खोली सकिएको छ । सो सडक सञ्चालनमा आउन सके दिक्तेल बजारबाट खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपापोखरी जाने सबैभन्दा छोटो मार्ग बन्नेछ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार ००:००  ९ : २७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली