८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण खोटाङमा नौँ घर विस्थापित

पहिरोका कारण खोटाङमा नौँ घर विस्थापित



खोटाङ, २० असार । लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौँ घर विस्थापित भएका छन् भने, २३ घर उच्च जोखिममा परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ, केपिलासगढी गाउँपालिकाका दुई र रावाबेँसी गाउँपालिकाका एक घर विस्थापित भएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका जीतबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई, शारदा राई र धनकुमार विश्वकर्माको परिवार विस्थापित भएका छन् । वर्षाका कारण जमिन फाटेर गाउँ नै चिरा–चिरा परेपछि छ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

बस्ती भएको जमिन चिरा परेपछि स्थानीय साउधन राई, पुरीमायाँ राई, पर्शुराम राई, बलराम राई र युवराज श्रेष्ठको घर उच्च जोखिममा परेको जनाइएको छ । जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सर्न तथा उच्च सतर्कता अपनाउन आग्रह गरिएको वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो ।

घर भएको जमिन फाटेर पहिरोले बगाउने खतरा भएपछि विस्थापितलाई हुर्लुङ–जालपा–फेदी सडक छेउको खेतमा प्लाष्टिकको टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष राईले बताउनुभयो । “विस्थापितमध्ये जीतबहादुर, भीमबादुर, कर्णबहादुर र रामीरा राईको घर अन्तै सानुपर्ने अवस्था देखिएको छ”, उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायले चासो दिन जरुरी छ ।”

वडा कार्यालय र टोल विकास संस्था साबालुङको पहलमा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको जनाइएको छ । पहिरोबाट विस्थापितमध्ये एकल महिला रामीरा र अभिभावक बिहिन शारदाको अवस्था नाजुक छ ।

घटनाका विषयमा जानकारी आउना साथ स्थानीय प्रहरीलाई घटनास्थलमा पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिनुभयो । “घटनाको बिस्तृत विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो, “विस्थापित परिवारको उद्धार तथा राहत वितरणका लागि पहल भइरहेको छ ।”

उता, रावाबेँसी गाउँपालिका–६ हौँचुरका भैरवबहादुर राईको परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई स्थानीय वर्णबहादुर राईको घरमा सारिएको वडाध्यक्ष चिरञ्जिवी कार्कीले जानकारी दिनुभयो ।

पहिरोका कारण स्थानीय हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदिप राई उच्च जोखिममा परेका छन् । चित्रबहादुर र शुक्रराजको घरभन्दा मुनिबाट शुरु भएको पहिरोले लाखौँको अन्नबाली क्षति गरेको जनाइएको छ ।

यस्तै, पहिरोका कारण केपिलासगढी गाउँपालिका–१ फेदीमा दुई घर विस्थापित भएका छन् भने, आठ घर जोखिममा परेका छन् । पहिरोका स्थानीय नवीन राई र बडमणि राईको परिवार विस्थापित भएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताउनुभयो ।

तपसी–दामलुङ ग्रामीण सडकको नयाँ ट्रयाकबाट पहिरो जाँदा दुई घर विस्थापित हुनुका साथै आठ घर उच्च जोखिममा परेको जनाइएको छ । पहिरोले घर जोखिममा परेपछि समाक्षमा राई, लाखमणि राई, रत्नमणि राई, मतिराज राई, इन्द्रमणि राई, धनकुमार राईको परिवारलाई तपसीडाँडामा सार्ने तयारी गरिएको छ ।

फेदीमा गएको पहिरोले तीन गोठ बगाउँदा समाक्षमा राईको एउटा दुहुनो भैँसी मारिएको छ भने, एउटा थोरे भैँसीको खुट्टा भाँचिएको छ । एउटा पाडो र गाईलाई पहिरोबाट सकुशल उद्धार गरेर निकालिएको प्रहरीले जनाएको छ ।

जिल्लामा लगातार वर्षा भइरहेकाले बाढी र पहिरोको क्षतिबारे यकिन तथ्याङ्क आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय खोटाङका सूचना अधिकारी पवित्रप्रकाश साहले जानकारी दिनुभयो । बाढी र पहिरोको क्षतिको विवरण सङ्कलन गर्न प्रशासनमा हटलाइन सेवासमेत सञ्चालनमा ल्याइएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति खोटाङले जिल्लामा मनसुन शुरु भएसँगै विपदपूर्व तथा प्रतिकार्य योजना बनाएको छ । मनसुनको समयमा जिल्लामा पर्नसक्ने विपद प्रभावितको खोज, उद्धार तथा राहत वितरणलाई तत्काल सहजीकरण गर्नका लागि विपदपूर्व तथा प्रतिकार्य योजना बनाइएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार ००:००  २ : २४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली