११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालीन बन्द

शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालीन बन्द



खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भवतीलाई शल्यक्रियामार्फत प्रसुति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया (शल्यक्रिया गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेपछि गर्भवतीको शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालले औपचारिक रुपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो ।

जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एकजना मात्र कर्मचारी रहेको उहाँको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डाक्टर नितु लामाले जानकारी दिनुभयो । “एनेस्थेसियाका सहायकस्तरका कर्मचारी एकजना मात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो, “दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो । उहाँ नभएको समयमा हामीले पाँच जनाको शल्यक्रिया गरिसक्यौँ । सम्बन्धित कर्मचारी नहुँदा अन्य कर्मचारीले उक्त काम गर्न मिल्दैन । अरुले गर्दा खतरा हुने भएकाले शल्यक्रिया सेवा नै बन्द गरिएको हो ।”

कर्मचारी अभावका कारण कुनै बिकल्प नहुँदा नागरिकलाई अगाडि नै जानकारी होस भनेर औपचारिक रुपमा सूचना जारी गरेर गर्भवतीको शल्यक्रिया सेवा नै बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत सहायकस्तरको कर्मचारी दुर्घटनामा घाइते भएसँगै अर्को कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायमा कुरा भइरहेकाले चाडै उक्त सेवा पुनः सञ्चालनमा ल्याइने प्रमुख डा. लामाले बताउनुभयो ।

जिल्लाको एकमात्र सरकारी अस्पतालमा गर्भवतीहरु दैनिकजसो आउने र कतिपय गर्भवतीमा विभिन्न कारण प्रसुति गराउन शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपछि समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लामा वि.सं. २०७६ असारदेखि जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गरेर प्रसुति गराउने सेवा सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला अस्पतालमा प्रसुति गराउने गर्भवती तथा जटिल किसिमका बिरामीलाई उपलब्ध गराइँदै आइएको शल्यक्रिया सेवा बन्द भएपछि सेवाग्राहीहरु चिन्तित बनेका छन् । जिल्लाका अन्य अस्पतालमा गर्भवती तथा अन्य जटिल किसिमका बिरामीको लागि शल्यक्रिया सेवा नभएपछि सेवाग्राहरु चिन्तित बनेका हुन् ।

शल्यक्रिया बन्द भएसँगै जिल्लाका शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवती तथा अन्य किरामीलाई राजधानी काठमाडौँ तथा तराईका सुविधासम्पन्न अस्पताल लानुपर्ने अवस्था सिर्जना भएको छ । राजधानी काठमाडौँ लगायतका सुविधासम्पन्न ठाउँमा लानुपर्दा कम्तिमा जिल्लामा रु दुई लाख ५० हजारसम्म खर्चेर हेलिकोप्टर चार्टर गर्ने गरिएको छ ।

आर्थिक अवस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकोप्टर चार्टर गरेर अस्पताल पुग्छन् तर, आर्थिक अवस्था कमजोर भएका परिवार उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ । हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउन बाध्य भएको घटनाहरु समेत रहेका छन् ।

आकस्मिक अवस्थामा अस्पताल जानुपर्दा हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था भएकै कारण खोटाङलाई ‘रु दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनिन्छ । स्वास्थ्यमा जटिल किसिमका समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा हुनेखाने परिवारहरु बसाइँ सरिकेकाछन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाका लागि ऐसेलुखर्क र दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । जिल्लाका दुवै प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि उनीहरु बस्दैनन् ।

वि.सं. २०४८ सालमा १५ शय्या क्षमतामा स्थापना भएको अस्पताललाई गत आर्थिक वर्षबाट ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरु गरिएको छ । स्थापना भएको ३१ वर्षसम्म स्तरोन्नति नभएको यस अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि सरुवा भएर आएका डाक्टरहरु भौतिक पूर्वाधार अभाव कारण बस्दैनन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार ००:००  १२ : ०९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली