२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थीको होमवर्क जाँच कार्यक्रम(भीडियो रिपोर्ट)

शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थीको होमवर्क जाँच कार्यक्रम(भीडियो रिपोर्ट)



खोटाङ ।केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको होमवर्क जाँच (गृहकार्य परीक्षण) कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियासिल गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी चेकजाँच गर्ने कार्यक्रम लागू गरेको हो ।

गाउँपालिकाले कक्षा कार्य र गृहकार्य चेक गर्नेगरी प्रथम चरणमा कक्षा-१ देखि कक्षा-३ सम्मका विद्याथीलाई आफैले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गरेको छ । पृष्ठभूमीमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको ‘विद्यार्थी अभ्यास पुस्तिका’ आइतबार औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकलाई हस्तान्तरण गरेको हो ।

गाउँपालिकाले गाउँपालिकाभरीका ३७ वटा सामुदायिक विद्यालयका कक्षा-१ देखि ३ सम्मका ९४९ विद्यार्थीलाई मङ्सिर महिनाका लागि चार/चार वटाका दरले तीन हजार ७९६ वटा अभ्यास पुस्तिका वितरण गरेको शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिनुभयो । “चालू शैक्षिक सत्रका लागि गाउँपालिकाको लगानीमा १६ हजार कापी छापिएको छ”, उहाँले भन्नुभयो, “पुस, माघ र फागुन महिनाका लागि प्रतिविद्यार्थी चार वटाका दरले वितरण गर्नेगरी अन्य अभ्यास पुस्तिका भण्डारण गरेर राखिएको छ ।”

पहिलो पृष्ठमा मिति, विद्यार्थीको नाम, कक्षा, रोल नम्बर, विषय, विद्यालय, विषय शिक्षकको नाम र सम्पर्क नम्बर, प्रधानाध्यापकको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर उल्लेख भएको ‘अभ्यास पुस्तिका’ वितरणपछि विद्यार्थीले अन्य कापी प्रयोग गर्न पाउने छैनन् । अभ्यास पुस्तिकाको पछाडिपट्टिको अन्तिम पृष्ठमा विद्यार्थी, शिक्षक र अभिभावकले पालन गर्नुपर्ने नियम उल्लेख गरिएको छ ।

कक्षा कार्य र गृहकार्य गर्नेक्रममा भरिएको कापीलाई सम्बन्धित विद्यालयका प्रअले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ । विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षणिक क्रियाकलाप बारे गाउँपालिकालाई जानकारी हुने जनाइएको छ ।

विद्यार्थीले सबै पानामा लेखिसकेपछि प्रअले बुझाएको कापीलाई भने जनप्रतिनिधिको उपस्थितिमा शिक्षा शाखाले चेक गर्ने गाउँपालिका गाउँपालिकाका उपप्रमुख गुरुराज राईले बताउनुभयो । “यो कार्यक्रम विद्यार्थीलाई सक्रिया बनाउन मात्र नभएर केही कामचोर शिक्षकमाथिको ‘निगरानी’ गर्न पनि ल्याइएको हो”, उहाँले भन्नुभयो, “कतिपय शिक्षकले नपढाउने, पढाए पनि कक्षा कार्य र गृहकार्य गराउन पर्याप्त ध्यान नदिएकाले निःशुल्क कापी उपलब्ध गराउने र चेक गर्ने रणनीति अघि सारिएको हो । यसले शिक्षकमाथि विद्यार्थीलाई कक्षा र गृहकार्य गराउन दबाब सिर्जना हुने अपेक्षा गरेका छौँ ।”

विद्यार्थीको कापी चेक गर्ने नीतिले गाउँपालिकाभरीका विद्यालयमा कोर्सलाई एकै समयमा पुरा गर्न दबाब पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । कापी अभावमा होमवर्क नगर्ने विद्यार्थीले पनि नियमित होमवर्क गर्ने वातावरण बन्ने गाउँपालिकाको अपेक्षा छ ।

गाउँपालिकाले लागू गरेको यो कार्यक्रमले फर्जी विद्यार्थीको सङ्ख्या देखाउने परिपाटीसमेत नियन्त्रण हुने गाउँपालिकाका प्रमुख समिर राईले बताउनुभयो । “विद्यार्थीलाई लेख्न नलाएर वा अभ्यास नगराएकै कारण सामुदायिक विद्यालयको गुणस्तर खस्किएको हाम्रो बुझाइ छ । शिक्षकले पढाउने मात्रै अभ्यास नै नगराउने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको बेस बनाउन तल्लो कक्षाको कापी चेक गर्ने रणनीति बनाइएको हो । पढ्नु पर्छ, पढाउनुपर्छ भन्ने मानसिकता विकास गरिदिन खोजिएको हो । यसले शिक्षकलाई जिम्मेवार बन्न दबाब पुग्छ । विद्यार्थीलाई अभ्यासमा अग्रसर गराउँछ । यसबाट विद्यार्थी, शिक्षक र विद्यालयबीच प्रतिष्पर्धा पनि हुन्छ ।”

यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि प्रअ तथा शिक्षा शाखाले विषय शिक्षक र कक्षा शिक्षकलाई लिखित सुझाव दिने ठाउँ बनाइएको छ । अभ्यास पुस्तिका प्रयोगका क्रममा विद्यार्थीले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गराउनुपर्ने, कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्ने र अभ्यास पुस्तिकाको सम्पूणर् पाना लेखिसकेपछि विद्यालयमा बुझाउनु पर्नेछ ।

शिक्षकले प्रत्येक दिन कक्षा कार्य र गृहकार्य दिने र रातो मसी प्रयोग गरी जाँच गर्नुपर्ने, विद्यार्थीले सम्पूणर् पेज लेखिसकेपछि प्रअबाट प्रमाणित गराएर विद्यालयमार्फत शिक्षा शाखामा पठाउनुपर्ने छ । यस्तै, अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिए/नदिएको जाँच गर्नुपर्ने, आफ्नो छोराछोरीलाई दिइएको गृहकार्य अनिवार्य रुपमा गर्न लगाउनुपर्ने नियम राखिएको छ ।

आगामी शैक्षिक-सत्रदेखि कक्षा-४ र कक्षा-५ मा पनि ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । कार्यक्रम प्रभावकारी देखिए कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अङ्ग्रेजीको कापी चेक गर्ने अवधारणा बनाइएको गाउँपालिका गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।

भीडियो

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार ००:००  २ : ०८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली