८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुल सञ्चालन भएपछि उत्तरी क्षेत्रका स्थानीयलाई राहत

पुल सञ्चालन भएपछि उत्तरी क्षेत्रका स्थानीयलाई राहत



वि.सं. २०६६÷०६७ सालमा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल–खार्मी–बाक्सिला सडक खण्डको तापखोलामा ढिलै भएपनि मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । रौता–रोशन–सुशम–आदित्य जेभीले वि.सं. २०७८ साल मङ्सिर–७ गते सम्पन्न गर्ने सम्झौता गरेको मोटरेबल पक्की पुल कोरोना भाइरसबाट बँच्न सरकारले लागू गरेको लकडाउनका कारण झण्डै वर्षदिन ढिला सम्पन्न भएको हो ।

वि.सं. २०६६ सालमा साविक खार्मी गा.वि.स.को रु १४ लाख बजेटबाट निर्माण शुरु गरिएको दिक्तेल–खार्मी–बाक्सिला सडक वि.सं. २०७७ सालमा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट उत्तरी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिलाबजार जोड्ने सबैभन्दा छोटो दूरीकोे दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाई र आठ दशमलव ४० मिटर चौडाईको छ ।

तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएपछि उत्तरी क्षेत्रका स्थानीय बासिन्दाका लागि आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको केपिलासगढी गाउँपालिकाका उपप्रमुख गुरुराज राईले बताउनुभयो । “तापखोलामा मोटरेबल पक्की पुल नहुँदा करिब छ महिना यातायात बन्द हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “ढिलै भएपनि तापखोलामा मोटरेबल पक्की पुल निर्माण भएर सञ्चालनमा आएपछि उत्तरी क्षेत्रमा सञ्चालित विकासे योजनाको काममा समेत सहज भएको छ ।”

निर्माण सम्पन्न भएको लामो समयसम्म ढुवानीका सवारी साधनमात्र सञ्चालन हुँदै आएको सडकखण्डमा पछिल्लो समय नियमित बस तथा सुमो सेवासमेत शुरु भएको छ । हिउँदभर करीब छ महिनामात्र सञ्चालन हुने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक खार्मीको अधिकांश क्षेत्रका स्थानीय बासिन्दासँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङ लगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी–बाक्सिला सडक नगरको गौरवका आयोजनामा राखेर स्तरोन्नति शुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले बताउनुभयो । “दिक्तेल–खार्मी–बाक्सिला सडक नगरवासीका लागि मात्र नभइ उत्तरपूर्वी क्षेत्रका स्थानीय बासिन्दाको लागि प्रमुख मार्गमा पर्दछ ।” उहाँले भन्नुभयो, “यो सडकलाई स्तारोन्नति गरेर बाह्रै महिना सञ्चालनमा ल्याउन नगरपालिकाको आवश्यक सहयोग रहन्छ । कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहल गर्ने कामसमेत अगाडि बढाइएको छ ।”

दिक्तेलबजारबाट खार्मी हुँदै बाक्सिला भएर भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्र्याक खोली सकिएको छ । सो सडक सञ्चालनमा आउन सके दिक्तेल बजारबाट खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी जाने सबैभन्दा छोटो मार्ग बन्ने छ ।

केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार जोड्ने दिक्तेल–हुर्लुङ–जालपा हुँदै बाक्सिलासम्मको अर्को सडक पनि सञ्चालनमा छ । उक्त सडकखण्डमा पर्ने तापखोलामा समेत यसअघि नै पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार ००:००  १२ : ११ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली