२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी मन्दिरको महत्व बुझाउन पर्यटक गाइड तालिम

हलेसी मन्दिरको महत्व बुझाउन पर्यटक गाइड तालिम



खोटाङ । खोटाङको हलेसी मन्दिरको महत्व बुझाउन पर्यटक गाइड तालिम शुरु गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्यहाँको आधिकारिक महत्व बुझाउँदै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले स्थानीय २५ जना युवालाई सहभागी गराएर आठ दिने तालिम दिन शुरु गरिएको हो ।

हलेसी तथा आसपासका धार्मिक एवम् पर्यटकीयस्थलहरुको महत्वको बारेमा आ–आफ्नै तवरले वर्णन गरिएकाले आगामी दिनमा आधिकारिक गाइडबाट आधिकारिक महत्वमात्र जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभयो । “हलेसी, ताराखसे, तुवाचुङ–जयाजुम लगायतका पर्यटकीयस्थललाई आ–आफ्नै धारण अनुसार वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “जसका कारण त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषयविज्ञलाई झिकाएर पर्यटक गाइड तालिम प्रदान शुरु गरिएको छ । आगामी दिनमा आधिकारीक गाइडबाट मात्रै हलेसीको वर्णन गरिनेछ ।”

प्राकृतिकरुपमा समेत विश्व प्रसिद्ध हलेसीको हिन्दु, बौद्ध र किराँत तीनवटै धर्मालम्बीको आ–आफ्नै इतिहास रहेको जानकारहरु बताउछन् । सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्ने उद्देश्यले बुधबारबाट माघ–४ गतेसम्म आठ दिने पर्यटक गाइड तालिम शुरु गरिएको बताइएको छ ।

हलेसी मन्दिर व्यवस्थापन समितिको सभाहलमा शुरु भएको तालिम आठ दिनसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेज्मेण्ट (एनएटिएच)सँगको सहकार्यमा नगरपालिकाले तालिमको आयोजना गरेको हो ।

तालिमको सहजीकरण एनएटिएचका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डङ्गोल, सह–प्राध्यापक तथा सँकृतिविद् डा.लोकनाथ दुलाल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किराँत मुन्धुम अध्येता भोगीराज चाम्लिङ राईले गरिरहनुभएको छ । तालिमको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खोटाङका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, पर्यटन व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

गाइड सम्बन्धी तालिमका लागि नगरपालिकाले मङ्सिर–८ गते सूचना निकालेको थियो । जसमा ३३ जनाको आवेदन परेकोमा दुईजनाको प्रक्रिया नपुगेको वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष एवम् नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ ।

नगरपालिकाले निकालेको सूचनाको आधारमा आवेदन दिने ३१ जनामध्ये सात महिला र १८ पुरुषगरी २५ जना तालिममा सहभागी भएका छन् । तालिम सम्पन्न भएपश्चात उनीहरुलाई सूचिकृत गरेर आधिकारिक गाइड राखिने नगरपालिकाले जनाएको छ ।

धार्मिक तथा साँस्कृतिकरुपले विश्व प्रसिद्ध हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका विभिन्न जिल्लासँगै भारत, चिन, बङ्गलादेश, भुटान तथा अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न देशबाट पर्यटक एवम् भक्तजन आउने गरेका छन् ।

हलेसीमा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरिकाले पूजापाठ गर्दै आएका छन् । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथ, बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनी तथा किराँत धर्मावलम्बीहरुले आदिम भूमि मान्ने गरेका छन् ।

दैनिक सयौँको सङ्ख्यामा पर्यटक र भक्तजनको भीड लाग्ने हलेसीमा चैतमा रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्री मेला ७ दिन र भदौमा तीज मेला तीन दिन लाग्ने गरेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीको मेला भर्न तथा पूजाआजा गर्न आउने पर्यटक तथा भक्तजनको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार ००:००  ८ : १९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली