११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

हलेसी तुवाचुङ : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा नगरस्तरीय तेस्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको प्रतियोगितामा तीन विद्यामा ९० पदकका लागि १२ वटा माविका विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

च्यास्मिटारस्थित खेलमैदानमा आज (बुधबार)देखि शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा एथलेटिक्सतर्फ छात्राछात्रको १३÷१३ स्वर्ण, भलिबलतर्फ छात्राछात्रको एक÷एक र कबड्डीतर्फ छात्राछात्रको एक÷एक स्वर्ण पदकका लागि खेल हुने जनाइएको छ ।

प्रतियोगितामा ३० वटा इभेन्टमा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने सितोरियो कराँतेका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले मेडल, प्रमाण पत्र पाउनेछन् ।

प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिइने प्रशिक्षक कसजुले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले रु एक लाख दिने गरेको छ ।

भौगोलिक विकटता तथा महङ्गीका कारण रु एक लाखले प्रतियोगिता गराउन सम्भव नभएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट रु चार लाख उपलब्ध गराएको छ । नगरपालिकाबाट विनियोजित बजेटबाट प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन÷जान तथा अन्य व्यवस्थापन खर्च उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिनुभयो ।

दूरीको आधारमा रु ३० हजारदेखि रु ५० हजारसम्म प्रति विद्यालयलाई खर्च उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ । प्रतियोगिता २७ माघमा सक्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कार्कीले जानकारी दिनुभएको छ । जिल्लास्तरीय राष्ट्रपति प्रतियोगिता कहिलेबाट शुरु हुने टुङ्गो लागेके छैन ।

नगरस्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करणको उपाधि महेन्द्रोदय मावि महादेवस्थान र पहिलो संस्करणको उपाधि दुर्छिम मावि दुर्छिमले उचालेकोे थियो । बिगत दुई वर्ष गरिएको नगरस्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तुलनामा तेस्रो संस्करणमा सत प्रतिशत विद्यालयको उपस्थिति भएको जनाइएको छ ।

खेलकुद क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउन नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लगायत विभिन्न कार्यक्रम गर्दै आएको नगरप्रमुख विमला राईले बताउनुभयो । “खेल क्षेत्रको विकासका लागि तीन वर्षअघि नगरपालिकाले फुटबल र कराँतेको प्रशिक्षक नियुक्ती गरिएको थियो”, उहाँले भन्नुभयो, “फुटबल र कराँतेका प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । चालू आर्थिक वर्ष २०७९÷०८० मा एकजना मुवाथाईको पनि प्रशिक्षक नियुक्ती गरिएको छ ।”

नगरप्रमुख राईको अध्यक्षतामा उद्घाटन भएको नगरस्तरीय प्रतियोगितामा प्रतिनिधिसभा सदस्य वजिमय, उपप्रमुख रमेशकुमार राउत, दुर्छिम र सल्लेबाहेक १० वडाका वडाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, राजनीतिक दल, शिक्षक तथा प्रतिनिधि, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार ००:००  १० : ४१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली