८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव

माओवादी केन्द्रको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव



काठमान्डौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव अघि सारेको छ।माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चुनाव चिन्ह फेर्न प्रस्ताव गरेका थिए।

’संरचनागत विधि र पद्धति नाम र चिन्ह लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जन मनोविज्ञान, भू-राजनीतिक व्यवस्था एवं प्रतिस्पर्धालाई समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ,’ प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन्।

माओवादी केन्द्रका कार्याल सचिव डोरप्रसाद उपाध्यायले प्रचण्डको प्रस्ताव स्थायी कमिटीले पारित गरेको र त्यसलाई केन्द्रीय कमिटीमा लैजाने बताए। दुई महिने संगठन निर्माण अभियानका क्रममा समेत यो विषयमा छलफल चलाइने उनले बताए। ’पार्टीको नाम र चुनाव चिन्ह फेर्ने विषय धेरै पहिलादेखि बहसमा आएको हो। यसपटक तल्ला कमिटीसम्म बहस हुन्छ,’ उनले भने,’दुई महिनापछि बस्ने केन्द्रीय कमिटीको बैठकमा यसबारे थप छलफल हुन्छ। त्यही बैठकले जरूरी ठानेमा निणर्य गर्नसक्छ।’

निर्वाचनअघि माओवादी केन्द्रले अरू दलहरूलाई मिलाएर समाजवादी केन्द्र बनाउने प्रयास गरेको थियो। त्यसका लागि उसले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसँग छलफल समेत गरेको थियो। माओवादीको उक्त प्रयास सफल भएको थिएन। त्यो बेलामा माओवादीका केही नेताले पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्ने प्रस्ताव गरेका थिए। माओवादीबाट २०७२ सालमा छुट्टिएका बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीले मंसिरमा भएको निर्वाचनमा माओवादीकै चुनाव चिन्ह लिएको थियो।

माओवादी सँगको एकताको लागि पार्टीको नाम फेर्नुपर्ने अडान भट्टराईले राख्दै आएका छन्। चुनाव चिन्ह अलि असजिलो खालको भएकाले फेर्नुपर्ने धारणा पार्टीमा पहिल्यैदेखि आएको माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले बताए। ’पार्टीको नाम र चुनाव चिन्हको बहस नौलो होइन। हामीकहाँ यसबारे छलफल भइरहेको छ,’ उनले भने,’अहिले नै एउटा निष्कर्षमा पुग्न सकिएको छैन। यसबारे अझै छलफल होला।’

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संसदीय राजनीतिमा विभिन्न पार्टीको मोर्चा बनाउने भएपछि पार्टीको नाम र चुनाव चिन्ह फेर्नु पर्ने हो कि भन्ने धारणा आउनु स्वाभाविक रहेको बताइन्। उनले अहिले नै यसबारे औपचारिक बहस भने सुरू नभएको दाबी गरिन्।

माओवादी पार्टी कार्यालयका सचिव डोरमणि उपाध्यायले चुनावमा मत घट्नुको एउटा प्रमुख कारण पार्टीको नाम र चुनाव चिन्ह रहेको निष्कर्ष आएको बताए।

’माओवादी केन्द्रकै नाम अनि चुनाव चिन्ह राख्दा हामीलाई विगतकै नजरले हेरिने भयो। शान्तिपूणर् राजनीतिमा आउँदासमेत विगतकै तस्वीरले हेरिएको छ,’ उनले भने,’हामी समय र परिस्थितिअनुसार परिवर्तन भएका छौं भन्ने सन्देश दिन पनि नाम र चुनाव चिन्ह फेर्न जरूरी छ भन्ने हो।’

सहरी क्षेत्रमा माओवादीको भोट घट्नुको कारण नाम र चुनाव चिन्ह पनि हो कि भनेर बहस भएको समेत उनले बताए। उनले यी सबै विषयको निष्कर्ष केन्द्रीय कमिटी बैठकले निकाल्ने बताए।

प्रचण्डको प्रस्तावमा पनि यो विषय उल्लेख छ।

’मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र हामी निल भयौं,’ प्रचण्डले भनेका छन्,’यसका पछाडि आधारभूत जनता र वर्गसँग हाम्रो सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको युवा र वौद्धिक जनतालाई आकर्षित गर्न नसकेको पुष्टि भएको छ।’

२०६४ यता नेकपा माओवादी केन्द्रले मुख्य सहरी क्षेत्रमा निर्वाचन जितेको छैन। काठमाडौंमा माओवादीले २०६४ मा ४ क्षेत्र जितेको थियो। त्यसयताका निर्वाचनमा माओवादीको उपस्थिति धेरै कमजोर भएको छ। काठमाडौं बाहिरका विराटनगर, पोखरा, बुटवललगायत प्रमुख सहरमा माओवादी शून्यजस्तै बनेको छ।

साभार – सेतोपाटी

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ००:००  ११ : ४७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली