११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

साकेला : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु



खोटाङ । जिल्लाको साकेला गाउँपालिकामा पालिकास्तरीय पाँचौ अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । ७३ औँ प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–४ मात्तिमस्थित नौलाखर्क खेलमैदानमा शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकास राईले गाउँपालिकाभित्र भइरहेका हरेक विकासको आयोजनालाई समयभित्रै गुणस्तरीय कार्य गराउन पटक–पटक खबरदारी गरिरहेको बताउनुभएको छ । “खेलकुद क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउन गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लगायत विभिन्न कार्यक्रम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “छनौट भएका खेलाडीलाई बिगतमा जस्तो अवसरबाट वञ्चित गराइने छैन । जिल्लास्तरमा हुने खेलमा सहभागिताका लागि आफ्नो कार्यकालभरी पठाउनेछु ।”

गाउँपालिकाको आर्थिक सहयोगमा शुरु भएको प्रतियोगितामा विभिन्न छवटा विद्यामा ५४ पदकका लागि विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । यस पटकको रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने जिम्मा सिद्धेश्वरी मावि खिदिमाले पाएको छ ।

प्रतियोगितामा भलिबलतर्फ छात्रछात्रा, हाईजम्प छात्रछात्रा, लङजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौडको खेल हुने जनाइएको छ । प्रतियोगितामा १८ वटा इभेन्टमा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतियोगिताका विजेताले शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिइने बताइएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले सशर्त कार्यक्रममार्फत रु एक लाख उपलब्ध गराएको छ । भौगोलिक विकटता तथा महङ्गीका कारण रु एक लाखले प्रतियोगिता गराउन सम्भव नभएपछि गाउँपालिकाले अपुग रकम उपलब्ध गराएको जनाइएको छ ।

गाउँपालिकाबाट विनियोजित बजेटबाट प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन÷जान तथा अन्य व्यवस्थापन खर्च उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिनुभयो । दूरीको आधारमा रु २५ हजारदेखि रु ३० हजारसम्म प्रति विद्यालयलाई खाजा खर्च बापत रकम उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगिता मङ्गलबार सक्ने लक्ष्य राखिएको आयोजक विद्यालयका प्रधानाध्यापक युवराज कटवालले बताउनुभयो । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिनुभयो । जिल्लास्तरीय राष्ट्रपति प्रतियोगिता कहिलेबाट शुरु हुने टुङ्गो लागेको छैन ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ००:००  ११ : ५९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली