८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ शुरु, चित्रकारलाई भव्य स्वागत

दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ शुरु, चित्रकारलाई भव्य स्वागत



खोटाङ । जिल्लाको प्रमुख व्यापारीक केन्द्र दिक्तेल बजारमा आज (बुधबार)बाट पाँच दिने अन्तराष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको आयोजनामा जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले असोज–१७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम शुरु भएको हो ।

दिक्तेलस्थित त्रीवेणी चोकमा चित्रकारलाई स्वागत गर्दै नेपाली कांग्रेसका नेता प्रकाश श्रेष्ठलगायत नगरवासी

कार्यक्रममा क्यानभासमा लाइभ चित्र उतार्नका लागि नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभीया, लिथुआनीया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायत १४ देशका ४० जना ख्यातिप्राप्त चित्रकारहरु खोटाङ आइपुगेका छन् । नगरपालिकाको प्रमुख प्रवेशद्धार महुरेगढीबाट शुरु भएको कार्यक्रममा सहभागी चित्रकारहरुलाई जिल्लावासीले भव्य स्वागत गरेका छन् ।

महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय नुनथलाबाट शुरु भएको कार्यक्रममा सहभागी स्वदेश तथा विदेशका चिकारहरुलाई शिक्षालयका विद्यार्थी र गोरख गण मुडे ब्यारेकका नेपाली सेनाले नृत्यसहित स्वागत गरेका थिए । मुडेमा शेर्पा समुदाय, दिक्तेलस्थित किराँतचोकमा किराँत समुदाय, रत्नपार्कमा महिला उद्यमी सङ्घ, सङ्गमटोलमा होटल व्यवसायी सङ्घ, पुरानो बेसक्याम्पमा प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी, त्रिवेणीचोकमा उद्योग वाणिज्य सङ्घ र शंखधर साख्वाचोकमा नेवार समुदायले आ–आफ्नो सँस्कार अनुसार झाँकीसहित भव्य स्वागत गरेका छन् ।

दिक्तेलस्थित किराँतचोकदेखि पुरानो बेसक्याम्पसम्म दायाँ÷बाँया लामबद्ध बसेका विद्यार्थीले वेलकम टु दिक्तेल भन्दै विभिन्न देशका झण्डासहित स्वागत गरेका छन् । कार्यक्रममा सहभागी चित्रकारहरुको स्वागतमा दिक्तेलस्थित सरस्वती मावि, पञ्च मावि, दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल, माउण्ट एभरेष्ट बोर्डिङ स्कूल, हिलसाइट स्याम्पल एकेडेमी बोर्डिङ स्कूल लगायतका विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी स्वदेश तथा विदेशका चित्रकारहरुले भोलि (बिहीबार)देखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनी कार्यक्रमका लागि नेपालसहित विदेशी चित्रकारहरु काठमाडौँबाट हिँडिसक्नुभएको छ । यो अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब १०० को हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्नेछन्”, उहाँले भन्नुभयो, “चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज–२० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको छ । यसले नगरको मात्र नभइ जिल्लाकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”

चित्रकारहरुले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको छ । खोटाङको कला, सँस्कृति र पर्यटनको प्रवद्र्धनका लागि दशवटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलिको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा कला प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो ।

लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, सँस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउने दाबी गरिएको छ । चित्रकला कार्यशाला एवम् प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई सङ्ग्रहालय बनाएर राखिने आयोजकले जनाएको छ ।

गत चैत–१९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवम् प्रदर्शनी गर्ने निर्णय गरेको थियो । लाइभ चित्रकला कार्यशाला एवम् कला प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाबाट प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलिको परिचय र पर्यटकीय महत्वसहितका तस्वीरहरु प्राथमिकीकरण एवम् छनोट गरिएको छ ।

यस्तै, जिल्लाका अन्य नौँ स्थानीय तहबाट प्राथमिकीकरण गरेर पठाइएका तस्वीरहरुसमेत प्रत्यक्ष चित्रकलाका आकर्षण हुने जानकारी दिइएको छ । नगरपालिकाको रु १८ लाख खर्चमा सञ्चालन हुने कार्यक्रममा राई ईज किङ उपाधिप्राप्त गायक राजेश पायल राईसमेत आउनुहुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ००:००  ९ : ४९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली