५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘फूलैफूलको पहाड’मा फूल फुल्न थालेपछि पर्यटकको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै

‘फूलैफूलको पहाड’मा फूल फुल्न थालेपछि पर्यटकको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै



खोटाङ । किराँत ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूलहरु अहिले ढकमक्क फुलेका छन्। धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्गको दायाँबाँया रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपाते लगायत फूलहरु ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो काहि मानिसको मन लोभिने गरेको छ ।

दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवाहरु रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान तीन वर्षअघि शुरु गरिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको अभियान अन्तरगत लालीगुराँस, सुनाखरी, चाँप, जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ फूल, कपुर, पुवाले, मसला, असारे फूल, गुलाफ लगायतका २० हजारभन्दा बढी बहुवर्षे फूलका बिरुवाहरु रोपिएका छन् ।

तस्वीर सौजन्य : पत्रकार दमन राई

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउन आवश्यक गुरुयोजना तयार पारेर साझा सपना पुरा गर्नेगरी शुरु गरिएको अभियान साकार बन्दै गएको मझुवागढी संरक्षण समितिका अध्यक्ष एवम् तत्कालीन जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभएको छ । किराँत ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर तथा बुद्धेश्यर महादेव गुफा आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासका ठाउँहरुमा बहुवर्षे फूलका बिरुवा रोपेर पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बनाउने महत्वकाङ्क्षी तर, साझा परिकल्पना गरिएको थियो ।

तस्वीर सौजन्य : पत्रकार केदार मगर

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजना अन्तरगत नगरपालिकाले वर्षेनी बजेटसमेत विनियोजन गर्दै आएको छ । मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यकरणका लागि यस वर्ष प्रदेश सरकारबाट एक करोड ५३ लाख बजेटसमेत प्राप्त भएको जनाइएको छ ।

फूलैफूलको डाँडा बनाएर आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्न ‘फूलको पहाड’ बनाउने अभियान थालिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । सुन्दर ठाउँ, वनजङ्गल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ । यहाँ तीनवटै चिज एकै ठाउँमा छ । यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्यर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन छ”, उहाँले भन्नुभयो, “फूलको बगैंचा निर्माण गर्न सकियो भने मझुवागढीको पर्यापर्यटन विकासमा सघाउ पुग्नेछ । त्यसको नेतृत्व नगरपालिकाले गरेको छ । भविष्यमा यसले नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”

दिक्तेलस्थित हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा १८०४ सालसम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साँगीतिक कार्यक्रम गर्ने लगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन्

तस्वीर सौजन्य : पत्रकार केदार मगर

किराँत ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातिडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै, गढीको बीच भागमा मौली रहेको छ ।

उसबेला रणवीर राजाका रैतिहरुले दशै मान्नको लागी ल्याएका राँगा बोकाहरु राख्ने ठाँउलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडी पूजाआजा गर्ने ठाँउ छ । त्यसको केहीमाथी राजाको दरवार र कोट गार्ड (सुरक्षाकर्मी )बस्ने ठाँउ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाँउ रहेको छ भने, गढीवरीपरि बम्कर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ ।

मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात वैशाखे र मङ्सिरे पूर्णिमामा पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचर्तुदशी, शिवरात्रि, हरितालिका तिज लगायतका चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । मझुवागढी पर्यटकलाई लक्षित गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टीलट्रस तथा आराम गर्ने स्टिलको फलैँचा र प्यास लागेको समयमा पिउनेपानीको व्यवस्था गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

उच्च हिमश्रृङ्खला तथा तराईका समथर भूभागको राम्रोसँग दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ । बाह्रै महिना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीयवासीले बताएका छन् ।

मझुवाको अर्थ माझ अर्थात बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै, पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने, दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ ।

चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाँउको नाम मझुवागढी भनिएको जानाकारहरु बताउँछन् । समुन्द्री सतहदेखि करीब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढीहरु प्रस्ट देखिन्छ ।

तस्वीर सौजन्य : पत्रकार केदार मगर

माझकिराँत भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरुको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल परियोजनाको ४० लाख ५० हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २० लाखको लागतमा फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।

मझुवागढीमा पर्यटकको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा भौतिक पूर्वाधार विकास गर्ने काम भइरहेको नगर उपप्रमुख विशन राईले बताउनुभएको छ । मझुवागढी हाम्रो ऐतिहासिक तथा साँस्कृतिक धरोहर हो । मझुवागढीलाई संरक्षण र विकास गर्न नगरपालिका लागिपरेको छ”, उहाँले भन्नुभयो, “मझुवागढीको चौतर्फी विकासमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि सकारात्मक देखिनुभएको छ । उहाँले आफै आएर स्थलगतरुपमा अवलोकन भम्रण गर्नुभएपछि २० लाख बजेटसमेत उपलब्ध गराउनुभएको छ । यसले हाम्रो अभियानलाई ठूलो सहयोग पुगेको छ ।”

मझुवागढीको पर्यटन विकासका लागि नगरपालिकाले प्रवेशद्धार, पदमार्ग निर्माण, खानेपानीको व्यवस्था लगायतका भौतिक पूर्वाधार निर्माणको गरेको छ । मझुवागढीलाई फूलैफूलको पहाड बनाउने अभियान सामाजिक सञ्जालमा देखेर विभिन्न क्षेत्रका व्यक्तिहरुले आफू पनि सहभागी हुन पाउनुपर्ने अनुरोध आउने गरेको नगर प्रवक्ता एवम् वडा –५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  १२ : ४७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली