११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्तेढुंगा : अस्पताल भवनको जगमा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग

जन्तेढुंगा : अस्पताल भवनको जगमा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग



खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा निर्माणाधीन १५ शैयाको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको पाइएको छ । पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीका ठेकेदारले बढी नाफा कमाउने उद्देश्यले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको पाइएको हो ।

चिसापानीमा निर्माणाधीन अस्पताल भवन वि.सं. २०७९ असार–२८ गतेभित्र निर्माणको काम सम्पन्न गरिसक्ने गरी वि.सं. २०७८ असार–२५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । तर, सो जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको जनाइएको छ ।

करिब दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने निर्माणाधीन अस्पताल भवनको हाल पिल्लर ठड्याउने काम मात्र हुँदै गरेको पाइएको छ । निर्माणाधीन अस्पताल भवनको लागि जग सम्याएर पिल्लर ठड्याउने काममा ठेकेदारले खुटा भन्ने ठाउँबाट बलौटे माटो ल्याएर प्रयोग गरिहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

निर्माणाधीन अस्पताल भवनमा कमसल सामान प्रयोग गरेको पाइएकाले यही पुस–११ गते पिसिसि ढलान भत्काउने मौखिक सहमति गरिए पनि ठेकेदार कम्पनीले उक्त सहमति पालना नगरेको स्थानीय सुमन राईले बताउनुभएको छ । “गुणस्तरहीन काम भइरहेको जनगुनासो आएपछि हामी अनुगमनमा गएका थियौँ । ठेकेदार र गाउँपालिकाको इन्जिनियरको उपस्थितिमा गुणस्तरहीन तरिकाले निर्माण गरिएका संरचना भत्काउने सहमति भएको थियो”, उहाँले भन्नुभयो, “आजको मितिसम्म भत्काउने कुरा त होइन निरन्तर काम भइरहेको पाइयो । त्यहा न त गाउँपालिकाको प्राविधिक कै उपस्थिति छ न त जनप्रतिनिहरुको अनुगमन नै ! कमसल सामान प्रयोग गरेर निर्माण भैरहेको संरचना भत्काएर सही र गुणस्तरीय समान प्रयोग गरी पुनः निर्माण गरियोस । हामी जनेढुङ्गाबासी उपभोक्ता सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौँ ।”

निर्माणाधीन अस्पतालको जगमा पिसिसि ढलानका लागि ठेकेदार कम्पनी सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर सुरेशकुमार मेहताले बताउनुभएको छ । “गाउँपालिकाकातर्फबाट ल्याब टेष्ट (गुणस्तर परीक्षण) नगरी प्रयोग नगर्न भने पनि ठेकेदारले मौका पारेर बारीको बालुवा मिसाएर प्रयोग गरेका छन् । गुणस्तरमा शंका लागेपछि बारीबाट उठाइएको बालुवा र सावा खोलाको बालुवा ल्याब टेष्टमा पठाइएको थियो । ल्याब टेष्टमा बारीको खानीको बालुवा फेल भएको रिपोर्ट आएको छ”, उहाँले भन्नुभयो, “शुरुमा स्याम्पल देखाउनुभो । ल्याब टेष्टमा पास भए मात्र ल्याउनु भनेका थियौँ । तर, ल्याएर झारेछ । हतार गएर बालुवा झार्न रोक लगायौँ । बीचमा अस्पताल भवनको डिजाइनकै कारण काठमाडौँ जानुप¥यो । त्यहीबेला बालुवा मिसाएर चलाइदिएछ । यहीबाट समस्या आएको हो ।”

निर्माणाधीन अस्पताल भवनमा ठेकेदारले बारीबाट माटै उठाएर ल्याएको भन्ने स्थानीयबाट जानकारी आएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले बताउनुभएको छ । “ठेकेदारले माटो मिसिएको बालुवा ल्याएर थुपार्नु नै गल्ती भयो । तुरुन्त हटाउनु भनेका थियौँ । मेसिन नभएर लगिनौँ भन्ने गरेको थियो”, उहाँले भन्नुभयो, “हामीले तुरुन्त हटाउ भनेका थियौँ । प्रयोग त गरे होलान् । इन्जिनियरले पनि नगर्नुस् भनेको रहेछ । तर, ल्याबमा हाल्नुपर्छ भनेर पठाइएको थियो । ल्याबमा फेल भएको भन्ने छ । गुणस्तरहीन सामाग्री प्रयोग भएको रहेछ भने तत्काल भत्काएर पुनः निर्माण गर्न लगाउँछौँ ।”

निर्माणाधीन अस्पतालमा खटिएका सिद्धगढी निर्माण कम्पनीका इन्जिनियर दिपेन्द्र गामीले भने अस्पतालको जग निर्माणका क्रममा बारीको खानीको बालुवा प्रयोग नगरेको दाबी गर्नुभएको छ । ल्याब फेल भएपछि त्यो बालुवालाई नचलाइ जगको सर्फेस मिलाउन मात्र प्रयोग गरेको इन्जिनियर गामीले जानकारी दिनुभएको छ ।

कुल रु २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने निर्माणाधीन अस्पताल भवन वि.सं. २०७७ मङ्सिर–१५ गते तत्कालीन प्रदेश सांसद (हाल प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’ले शिलान्यास गर्नुभएको थियो । निर्माणाधीन अस्पताल भवन निर्माणको काम ठेकेदार कम्पनीले तोकिएको समयमा सम्पन्न नगरेपछि पुनः अर्को म्याद थपको प्रकृया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार ००:००  १० : १७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली