८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ : लामो तथा छोटो दूरीका सबै सवारी साधनको भाडादर घटाइयो

खोटाङ : लामो तथा छोटो दूरीका सबै सवारी साधनको भाडादर घटाइयो



खोटाङ, ८ माघ ।खोटाङमा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारी साधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो ।

जिल्लामा सञ्चालित बस, सुमो (जीप), अटो र भ्यान सञ्चालकहरुसँग छुट्टाछुट्टै छलफल गरेर सवारी साधनको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिनुभएको छ । “जिल्लामा सञ्चालित सबै सवारी साधनले आफूखुशी भाडा लिने गरेका थिए । यसलाई व्यवस्थित गर्न पहिलो चरणमा बसको एकतर्फी भाडा रु ३१० सम्म घटाइएको छ”, उहाँले भन्नुभयो, “सवारी साधनको भाडादरलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ । बस, सुमो, अटो र भ्यान सञ्चालक समितिबाट एक÷एकजना, उद्योग वाणिज्य सङ्घ, ट्राफिक प्रहरी, पत्रकार महासङ्घ, नागरिक समाज, दशवटै स्थानीय तहका एक–एकजना प्रतिनिधि राखेर समिति निर्माणगरी वैज्ञानिक तवरबाट भाडा तोकिने र त्यसैलाई स्थायी रुपमा निरन्तरता दिने निर्णय गरिएको छ ।”

बसमा दिक्तेल–खुर्कोट रु ९५०, दिक्तेल–काठमाडौँ रु एक ३००, दिक्तेल–रसुवा–गाईघाट–धरान खडकखण्डमा दिक्तेल–गाईघाटको रु एक हजार, दिक्तेल–ईटहरीको रु एक हजार ३००, दिक्तेल–धरान रु एक हजार ३५० र दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा सडकखण्डमा दिक्तेल–कटारी रु एक हजार, दिक्तेल–मिर्चैया रु एक हजार १००, दिक्तेल–लाहान रु एक हजार २००, दिक्तेल–ईटहरी रु एक हजार ४५०, दिक्तेल–धरान रु एक हजार ५००, दिक्तेल–विराटनगर रु एक हजार ५५० र दिक्तेल–काँकडभिट्टा रु एक हजार ७५० नयाँ भाडार कायम गरिएको छ । दिक्तेल–भोजपुर अन्तगरत दिक्तेल–चखेवा रु ५५०, दिक्तेल–भोजपुर रु ८००, दिक्तेल–मानेभन्ज्याङ रु ५३०, दिक्तेल–रोक्सिम भन्ज्याङ रु ६००, दिक्तेल–खोटाङबजार रु ७०० भाडादर तोकिएको छ ।

यात्रुको सहजताका लागि जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सबै स्थानको भाडा घटाइएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभएको छ । “व्यवसायसँगै यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले सबै सवारी साधनको भाडादर घटाइएको छ । नयाँ भाडादरअनुसार भाडा लिन र दिन व्यवसायी तथा यात्रुलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “यातायात व्यवसायीले तोकिएको भाडादर लागू नगरेको खण्डमा हामीलाई खबर गर्नुहोस् । तुरुन्त कारबाही गर्छौँ ।”

लामो दूरीमा चल्ने सुमोले सबै ठाउँको रु १००÷१०० भाडा घटाउने र भ्यानले दिक्तेलबाट मुडेसम्मको रु १००, हुर्लुङ रु १५०, नुनथला रु २००, महुरे रु २५०, अर्खौले रु ३०० र हलेसी रु ३५० भाडा लिनुपर्ने जनाइएको छ । भ्यानले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा रु तीन हजार ५०० मात्रै लिन पाउने छन् ।

अटोले सेवा दिइरहेको ठाउँमा रु ५० घटाउने र दिक्तेलको रत्नपार्कदेखि जिल्ला अस्पतालसम्म बिरामी लानु परेमा बिरामी र सहयोगीको रु २५० र बिरामीसहित तीनजना भएमा रु ३५० लिने निर्णय भएको छ । जिल्लामा सञ्चालन हुने अटोले सबैभन्दा बढी मनपरी भाडा लिने गरेको यात्रुहरुको गुनासो छ ।

यसैबीच, दिक्तेलको आचार्य गाउँमा रहेको बसर्पाकमा दैनिक पाँचवटा बस लैजाने र त्यहाँ इन्ट्री गरेर मात्रै माथि आउन पाइने, यात्रु लिन सोल्मा बसपार्कमा बस अनिवार्य जानुपर्ने र आन्तरिक रुपमा चल्ने यातायातका साधन सोल्मा बसपार्क लैजाने निर्णय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । सडकको दाँयाबाँया यत्रतत्र गाडी पार्किङ गर्न नपाइने, यदि पार्किङ गरेको खण्डमा कानून अनुसार कारबाही प्रक्रियाको प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा बस, जीप, अटो र भ्यानगरी करिब ३५० को हाराहारिमा सवारी साधन सञ्चालनमा रहेका छन् । वि.सं. २०६४ सालमा हेलिकोप्टरमार्फत बोकेर ल्याइएको गाडीमार्फत यातायात सेवा शुरु गरिएको जिल्लामा पछिल्लो समय सबै स्थानीय तहसँग सिधा यातायात जोडिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार ००:००  ४ : ४६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली