९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म

कृषि पेशामा रमाउँदै विजयखर्कका धर्मराज पोखरेल

व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म

कृषि पेशामा रमाउँदै विजयखर्कका धर्मराज पोखरेल



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले वि.सं. २०७८ सालमा ‘विजय अर्गानिक भिजेल कम्पनी प्रा.लि.’मार्फत आफ्नै गाउँमा कृषि फार्म शुरु गर्नुभएको थियो । बुढानिलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आउनुभएका पोखरेलले आफ्नो जन्मथलो विजयखर्कका फरक–फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाई÷भैँसी, कुखुरा, माछा, फलफूल र तरकारी खेती लगाउनुभएको छ ।

विजयर्खस्थित उहाँका आफ्नै जग्गामा १३ वटा बङ्गुर फार्म सञ्चालन गरेको पाइएको छ । राजापानीमा दुईवटा बाख्रा फार्म छन् । बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारी खेती लगाइएको छ । जस्ताले छाइएको सिमेन्टेड फार्मभित्र बँदेल पनि पालिएको छ । भूगोल, हावापानीअनुसार माटो परीक्षण गरेर व्यवसायिक कृषि फार्म सञ्चालन गरिएको पोखरेलले जानकारी दिनुभएको छ ।

विजयखर्कको रामबाडीस्थित दुईवटा बङ्गुर फार्ममा ५० को हाराहारीमा बङ्गुर र बँदेल छन् । वरपर कागती, लिची, कटहर, केरा, माछा पोखरी, तरकारी खेती लगाइएको छ । विजयखर्ककै भैरमपुरबेँसीमा पाँचवटा बङ्गुर फार्म छन् । जहाँ करिब २०० को हाराहारीमा बङ्गुर र बँदेल छन् । त्यही सातवटा पोखरीमा माछा पालन गरिएको छ । एउटा कुखुरा फार्ममा करिब ५०० को हाराहारीमा कुखुरा छन् । आसपासमा अनार, अङ्गुर, आँप, लिची, कटहर, सुन्तला, कागती, एभोकार्डो, चेरीमैया, जापानिज कटुस, केरा, अम्बा, रुद्राक्ष लगायतको व्यवसायिक खेती लगाइएको छ ।

बुइपाको स्वाराटोलमा चारवटा बङ्गुर फार्म छन् । जहाँ करिब २०० को हाराहारीमा बङ्गुर छन् । सँगै अम्बा, अमला, कागती, सुन्तला, एभोकार्डो लगाइएको छ । बुइपाकै तमरुङमा एउटा बङ्गुर फार्म राखिएको छ । सो फार्ममा ५० वटाको हाराहारीमा बङ्गुर छन् । सँगै सिताके च्याउ, किवी, अनार, कागती, सुन्तला, स्याउ, अङ्गुर, कुरिलो र तरकारी खेती लगाइएको छ । बुइपाकै दम्कुमा भैँसी गोठ, सुँगुर खोर, कुखुरा फार्मसँगै कागती, सुन्तला, लिची लगायतको खेती लगाइएको छ । हरेक ठाउँमा सञ्चालित फार्मबाट उत्पादनसमेत दिन थालेको पाइएको छ ।

यस्तै, राजापानीको खाम्तेलडाँडामा एउटा बङ्गुर फार्ममा ६० वटा बङ्गुर छन् । बङ्गुरसँगै गाई र भैँसी पालन गरिएको पोखरेल बताउनुभएको छ । राजापानीकै तल्लोबडकामा दुईवटा बाख्रा फार्ममा करिब ४०० को हाराहारीमा बाख्रा पालन गरिएको छ । पाँचवटा गाई पालन गरिएको छ । गाई बाख्राकालागि डाले र भुइँ घाँस लगाइएको छ । फार्म आसपासमा कागती, सुन्तला, लिची, तरकारी खेती लगाइएको छ । हरेक ठाउँका फार्ममा एक÷एक परिवारलाई पारिश्रमिकसहित शेयर सदस्यका रुपमा राखिएको छ । शेयर सदस्यका रुपमा राखिएका नौँ घर परिवारका ६५ जनाले फार्मको हेरचाह गर्ने गरेका छन् ।

फार्ममा तयार भएका बङ्गुरको मासु बिक्री वितरणका लागि पोखरेलले बुइपाको पञ्चदोबाटोमा खाने बस्ने व्यवस्थासहितको सेकुवा पसल र कोल्डस्टोरसहितको मासु कटिङ सेन्टर खोल्नुभएको छ । फार्महरुमा पाल्नका लागि धरान र चितवनबाट बँदेलको पाठो ल्याइएको हो ।

प्रतिकेजी रु एक हजार २०० का दरले फार्मबाटै ५६ वटा बँदेल बिक्री भइसकेको पोखरेल बताउनुभएको छ । राजनीतिमा समेत सक्रिय रहनुभएका पोखरेल काठमाडौँमा विजय इन्जिनियरिङ कन्सल्ट्यान्सी सञ्चालन गर्दै आउनुभएको छ ।

बहुउद्देश्यीय तरिकाले स्थापना गरिएको कृषि फार्मका लागि संरचना निर्माण तथा सञ्चालनमा अहिलेसम्म एकोहोरो लगानीमात्र भइरहेको पोखरेलले बताउनुभएको छ । “कृषिमा वास्तविक किसानले अनुदान पाउँदैनन् । अहिले व्यक्तिगतरुपमा लगानीमात्र भइरहेको छ । आम्दानी शुरु भएको छैन । अहिलेसम्म रु १५ करोडभन्दा बढी लगानी गरिसकेको छु” उहाँले भन्नुभयो, “जिम्मेवार निकायमा बसेकाहरु कृषिमा सम्भावना छ भनेर गफ मात्रै गर्ने गरेका छन् । मैले चाहिँ आफै गरेर देखाऔँ भन्ने हो । फार्मले आम्दानीसमेत दिन थालेको छ । मेरो कृषि फार्म देखेर यहाँका धेरैजना स्थानीय बासिन्दाले आ–आफ्नो क्षेत्रमा व्यवसायिक खेती शुरु गरेका छन् । कृषि पेशालाई व्यवसायिक तथा आधुनिक तरिकाले अपनाउन अभियानसमेत चलाइरहेको छु ।”

फार्ममा उत्पादित अधिकांश कृषि उपज तथा पशुपन्छी काठमाडौँ नि¥यात हुने गरेको जनाइएको छ । केही समयपछि काठमाडौँको विभिन्न ठाउँमा आफ्नै बिक्री केन्द्रहरु सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले जानकारी दिनुभएको छ ।

कृषि पेशामा ठूलो धनराशि लगानी गर्नुभएका पोखरेलले वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस प्रदेश समितिबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर प्रमुखको टिकट लिएर आउनुभएको थियो । प्रदेशबाट नगर प्रमुखको टिकट पाएपछि हेलिकोप्टर चढेर मनोनयन दर्ता गर्न दिक्तेल ओर्लिनुभएका पोखरेललाई असन्तुष्ट पक्षले हेलिप्याडमा हातपातसमेत गरेका थिए ।

सुरक्षा घेराभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेपनि अन्तिममा उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिएर तीर्थराज भट्टराईलाई सघाउनुभयो । प्रदेशसभा निर्वाचनमा पनि पोखरेलले खोटाङ प्रदेशसभा (क)मा वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनुभएको थियो ।

निर्वाचन परिणाम अनुसार गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई पराजित हुनुभयो भने, नेकपा एमालेका पाँचकर्ण राई विजयी हुनुभयो । काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका पोखरेललाई केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहनेगरी निश्काशन गरेपछि अहिले आफ्नै गाउँमा आएर कृषि कर्ममा रमिरनुभएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार ००:००  ११ : १६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली