१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम सम्पन्न

‘मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम सम्पन्न



खोटाङ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन–५ गते क्यानभासमा चित्र कोरेर उद्घाटन गर्नुभएको ‘मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम बिहीबार औपचारिकरुपमा सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङले नेपाल कला परिषदको सभागृह बबरमहल काठमाडौँमा आयोजना गरेको १३ दिने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम दैनिक ५०० को हाराहारीमा उपस्थित सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरुले प्रत्यक्ष अवलोकन गरेका छन् ।

दिक्तेलको धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वाचोक, शुभम् फाउण्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्षरुपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको थियो । दिक्तेलमा गत असोज–१७ गतेदेखि २१ गतेसम्मा आयोजना गरिएको ‘चित्रकला कार्यशाला तथा प्रदर्शनी’मा सहभागी नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका २१० वटा चित्रलाई सङ्कलन गरेर प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त चित्रकारहरुले खोटाङको धार्मिक तथा पर्यटकीयस्थलहरु त्रिधार्मिकस्थल हलेसी, जन्तेढुङ्गा, भुलभुले दूधकुण्ड, मेरुङ लगायतका ठाउँको क्यानभास चित्र उतारेका थिए । धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुका साथै जिल्लाको भौतिक विकास तथा धर्म, संस्कार, संस्कृति र रहनसहनका बारेमा चित्रकारहरुले क्यानभासमा उतारेका चित्रलाई समेत प्रदर्शनीमा राखिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम आयोजना गरेर इतिहास निर्माण गरेको चित्रकार के.के. कर्माचार्यले बताउनुभएको छ । “प्रदर्शनीमा राखिएका क्यानभास चित्रहरु ऐतिहासिक छन् । यो नगरपालिकाको सम्पती हो । यस्तो कार्यक्रम अहिलेसम्म कसैले गरेका छैनन्”, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपतिसमेत रहनुभएका उहाँले भन्नुभयो, “चित्रकला कलाहरुमध्येका एउटा अद्भूत कला हो । यसलाई जसले जसरी अथ्र्याउन पनि सक्छन् । क्यानभास चित्रलाई युगौँयुगसम्म राख्न सकिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विश्वका ख्यातिप्राप्त चित्रकारको चित्र सङ्कलन गर्न सफल भएको छ । यो ऐतिहासिक कार्य हो । यसले नगरपालिकालाई विश्वभर परिचित गराएको छ ।”

चित्रकार कर्माचार्यको अमूर्त क्यानभास चित्रहरुसमेत प्रदर्शनीमा राखिएको थियो । अमेरिकाकी चित्रकार एवम् प्रोफेसर जोय वल्फ, लातभियाकी चित्रकार आन्दा पैकाने, नेपाली चित्रकारहरु रतनकुमार राई, विजय थापा लगायत ५० देशका चित्रकारले क्यानभासमा उतारेर प्रदर्शनीमा राखिएका चित्रहरुलाई खोटाङमै बोलाएर जिल्लाका दशवटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थलहरु तथा धर्म, संस्कार, संस्कृति, परम्परा र रहनसहनलाई क्यानभासमा उतार्न लगाइएको थियो ।

संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्कोे श्रृङ्खलाको रुपमा आयोजना गरिएको छ । प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर सङ्ग्रहालय बनाएर राख्ने योजना बनाइएको छ”, उहाँले भन्नुभयो, “संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ । चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ ।”

 

स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका क्यानभास चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई “पासाङ’ले बताउनुभएको छ । “चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभइ समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउँदै यहाँको सँस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारहरुले समग्र खोटाङको चित्र कोरेका छन् । यसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सफल भएको छ ।”

तेह्र दिनसम्म सञ्चालन गरिएको प्रदर्शनी कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका उच्च पदस्थ व्यक्ति तथा राजनीतिक दलका नेताहरु सहभागी भएका थिए । प्रदर्शनी कार्यक्रममा सहभागी उच्च पदस्थ व्यक्तिहरुले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको लिखित प्रतिक्रिया दिएका छन् ।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमको औपचारिक समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार (फागुन–१६ गते) गर्नुभएको नगर प्रमुख भट्टराईले जानकारी दिनुभएको छ । चित्रकार तथा सहयोगी संस्थाहरुलाई सम्मानसमेत गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमका माध्यमबाट अन्तर्राष्ट्रियरुपमा एकता प्रवद्र्धन भएको बताउनुभएको छ ।

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका लाइभ क्यानभास चित्रलाई प्रदर्शनी कार्यक्रम सकिएपछि पुनः दिक्तेल लगेर सङ्ग्रहालयमा राख्ने तयारी गरिएको नगर उपप्रमुख विशन राईले बताउनुभएको छ । “स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरु हाम्रो नगरपालिकाको सम्पत्ति हो । यी चित्रहरुलाई नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बनाउने योजना छ”, उहाँले भन्नुभयो, “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले एउटा ईतिहास निर्माण गरेका छौँ । क्यानभासमा कोरिएका चित्र आगामी दिनमा यो नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बन्नेछ ।”

धनु आर्ट स्टुडियो काठमाडौँसँगको सहकार्यमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा रु १८ लाख खर्च भएको नगरपालिकाले जानकारी दिएको छ । काठमाडौँमा आयोजना गरिएको अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रममा भने कति खर्च भयो भन्ने विवरण गरेपालिकाले सार्वजनिक गरेको छैन ।

खर्चको विवरण तथा कार्यक्रमको उपब्धिका बारेमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने योजना बनाइएको नगर प्रमुख भट्टराईले बताउनुभएको छ । यद्यपि, नगरपालिकाको आयोजनामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ कार्यक्रमलाई जिल्लाका कतिपय स्थानीय बासिन्दाले भने अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ००:००  १२ : ३७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली