१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला अस्पताल खोटाङलाई १४ युवाले दियो रु ७० हजार बराबरको न्यानो कपडा

जिल्ला अस्पताल खोटाङलाई १४ युवाले दियो रु ७० हजार बराबरको न्यानो कपडा



खोटाङ, २७ फागुन । जिल्ला अस्पताल खोटाङलाई जिल्लाका १४ जना युवाले रु ७० हजार बराबरको फाइवरको सिरक, सिरकको खोल, बेड कभर र सिरानी प्रदान गरेको छ । विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका जिल्लाका १४ जना युवाले प्रतिव्यक्ति रु पाँच हजारका दरले रकम सङ्कलन गरेर आज (आइतबार) साँझ अस्पताललाई २०÷२० थान फाइवरको सिरक, सिरकको खोल, बेड कभर र सिरानी प्रदान गरेको हो ।

युवाले आर्थिक सङ्कलन गरेर जुटाएको सिरक, सिरकको खोल, बेड कभर र सिरानी आइतबार प्रदेशसभा सदस्य भूपेन्द्र राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, वडा नं. ९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेत लगायतले संयुक्तरुपमा अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलालाई हस्तान्तरण गर्नुभएको छ । जिल्ला अस्पतालमा भर्ना भएका बिरामीले ओढ्ने ओछ्याउनेगरी सिरक, सिरकको खोल, बेड कभर र सिरानी प्रदान गरिएको सहयोगीहरुले बताएका छन् ।

उपचारका लागि अस्पताल भर्ना भएकोबेला कतिपय बिरामीले न्यानो कपडा अभावमा चिसोमा रात काट्न बस्न बाध्य भएको देखेपछि सहयोग रकम सङ्कलन गरेर अस्पताललाई सरक, बेड कभर र सिरानी प्रदान गरिएको नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीले बताउनुभएको छ । “केही समय अगाडि हामी जिल्ला अस्पतालमा पुगेका थियौँ । त्यहाँ वेड भर्ना भएर उपचार गराइरहेका बिरामीहरूको वेड हे¥र्यौँ । सबै वेडमा ओछ्याएका डसना, बेड कभर, सिरक, सिरानीहरू पुरानो भएर न्यायो नभएको देखियो”, उहाँले भन्नुभयो, “हामीले आर्थिक सङ्कलन गरेर अस्पतालाई न्यानो कपडा वितरण गरेका छौँ । यसलाई हिफाजत गर्ने जिम्मा अस्पतालको हो । आगामी दिनमा यस्तो अस्पताल भर्ना भएका बिरामी जाडोको समस्यामा नपरोस् ।”

पत्रकार महासङ्घका अध्यक्ष खत्री, वडाध्यक्ष कठायत, एमाले नेता गोपालचन्द्र आचार्य, नेकपा एकीकृत समाजवादीका नेता शम्भु घिमिरे, व्यवसायीहरु अर्जुन चौलागाईँ, नारायण राई, सुनिल राई र जोसेफ रिजाल, कर्मचारीहरु अनिल आचार्य, ढुण्डीराज पाण्डे, यादव धमला, उत्तम आचार्य र दिनेश आचार्य तथा विद्यार्थी नेता एलिस दंगालले अस्पताललाई न्यानो कपडा खरिदका लागि आर्थिक सहयोग गर्नुभएको जनाइएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सह–इन्चार्ज हरिवोल आचार्य, नेपाल पत्रकार महासंघ शाखा खोटाङका पूर्व अध्यक्ष दमन राई, एमाले नेता सनमान खड्का लगायको उपस्थिति रहेको थियो ।

अस्पतालको स्रोतले नधानीरहेको अवस्थामा दाताहरुले गर्नुभएको यो सहयोगले बेड भर्ना भएर उपचार गराउने बिरामीलाई थप राहत मिलेको जिल्ला अस्पतालका प्रमुख डा. सङ्ग्रौलाले बताउनुभएको छ । “प्रदेशबाट कार्यक्रम आएको छैन । हामीले माग फाराम भरेर पठाएका छौँ । सरकार परिवर्तनका कारण अहिलेसम्म स्वीकृत भएको छैन”, उहाँले भन्नुभयो, दैनिकजसो अस्पताल भर्ना भएर उपचार गराउने बिरामीको सङ्ख्या धेरै हुन्छ । जस्ले गर्दा पनि यसअघिसम्म बिरामीहरूलाई असहज हुन्थ्यो । दाताले उपलब्ध गराएको यो सामग्रीले बिरामीहरूका लागि सहज भएको छ ।”

वि.सं. २०४९ वैशाख–१ गते स्थापना गरिएको १५ शय्याको जिल्ला अस्पताल खोटाङमा हाल २० शय्या सञ्चालनमा छन् । स्थापना भएको लामो समयसम्म १५ शय्यामा सञ्चालित अस्पताललाई ५० शय्यामा स्तरोन्नतिको काम भइरहेको छ ।

 

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार ००:००  ६ : ०५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली