१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा डढेलोको प्रकोप

कहाँ-कहाँँ के भयो ?

खोटाङमा डढेलोको प्रकोप

कहाँ-कहाँँ के भयो ?



खोटाङ,३ चैत।  वनमा लागेको डढेलो गाउँ पस्दा ४ वटा घर, मतान, गोठ र पशुचौपायहरु जलेर नष्ट भएका छन् । जिल्लामा अहिले ४ ठाउँमा डढेलो लागि रहेको छ । दुई  ठाउँको डढेलोले घरहरुमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ

जिल्लाको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेमा शुक्रबारबाट सुरु भएको डढेलोले हालसम्म २ वटा घर, एक मतान, एउटा बाख्रा फर्म र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको त्यहाँका वडाध्यक्ष सुनिल राईले बताउनुभयो । यस्तै, हलेसी तुवाचुङ नगरपालिका-८ धितुङमा शुक्रबारबाटै सुरु भएको डढेलोले २ वटा घर, ३ वटा गोठ र विभिन्न पशुचौपाय जलेर नष्ट भएको वडाध्यक्ष टेकराज राईले बताउनुभयो ।  स्थानीय चौतारा सामुदायिक वनबाट सुरु भएको डढेलोले धितुङस्थित रातेखोलास्थित देवराज राईको घर र गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । घर भित्ररहेको अन्नपात, भाडाकुडा सबै जलेको छ । यस्तै गोठ जल्दा ४ खसी, एक बाख्रा, ६ पाठापाठी र काठसमेत जलेर नष्ट भएका छन् । करीब १५ लाख रुपैयाँ बराबरको देबराजको क्षति भएको छ । यस्तै, ज्ञानमाया राईको घर र गोठ जलेर नष्टहुँदा अन्नपात, भाँडाकुडा, ३ खसी, ५ बाख्रा, १ गोरु, १० कुखुरा सखाप भएको छ । ज्ञानमायाको करीब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, इश्वरमाया राईको पनि गोठ, घासपात र काठ जलेको वडाध्यक्ष टेकराज राईले बताउनुभयो । प्रहरी र स्थानीयले आगो नियन्त्रण गर्न नसक्दा घरहरुमा क्षति भएको उहाँको भनाइ छ । हाल आगो नियन्त्रणमा आएको भएपनि पूर्णरुपमा मार्न नसकिएको वडाध्यक्ष राईको भनाइ छ । उक्त वनमा अघिल्लो वर्ष पनि डढेलो लागेको थियो ।

यस्तै, ऐसेलुर्खक गाउँपालिका–६ ज्यामिरे सल्लेमा सेतीदेवी सामुदायिक वन र फेलेम्तासी वनको सिमाना एक्लो चोतारोबाट सुरु भएको डढेलोले सल्लेका खुजप्रसाद फुयँल र दिपक लम्सालको २ घर सखाप पारेको छ । घरसँगै अन्नपात, भाँडाकुडा सबै जलेर नष्ट भएका छन् । लम्सालको ७० वटा रहेको बाख्रा फर्ममा ५ वटा मात्र बचेका छन् । अरु सबै सखाप भएको वडाध्यक्ष सुनिल राईले बताउनुभयो । एउटा गाई र गोरु पनि घाइते भएका छन् । यस्तै, युवराज राईको मतान, बलराम राई र रण बहादुर पोखरेलको गोठ पनि जलेर नष्ट भएका छन् ।
वडाध्यक्ष राईका अनुसार डढेलो अहिले पनि नियन्त्रणमा आएको छैन् । ज्यामिरे साविक १ सल्लेमा अझै जोखि रहेको छ । सल्लेरी सालघारी वनमा डढेलो पसेको छ । प्रहरी र नेपाल आर्मीको टोली पनि नियन्त्रणका लागि पुगेका छन् । शुक्रबार दिउँसो ३ बजेबाट अचानक वनमा आगलागी भएको देखेपछि स्थानीयले सेतीदेवि बनमा अग्नि घेरा हालेर थप फैलिन दिएका थिएनन् । साँझमा डढेलो सामान्य रहेको थियो । तर शनिबार दिउँसोको हावाहुरीले सबैतिर फैलाएपछि घरहरुमा क्षति पुगेको वडाध्यक्ष राईको भनाइ छ ।

यो समाचार तयार पार्दासम्म जिल्लामा धितुङ, ज्यामिरे सल्लेसँगै, नुनथलास्थित हुर्लुङ सामुदायिक वनमा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा डढेलो लागिरहेको प्रहरीले जनाएको छ । खोटेहाङ गाउँपालिका–८ मा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार ००:००  ८ : ५२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली