२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण गरेको आठ वर्षपछि शारदा माध्यमिक विद्यालयलाई भवन र छात्रावास हस्तान्तरण

निर्माण गरेको आठ वर्षपछि शारदा माध्यमिक विद्यालयलाई भवन र छात्रावास हस्तान्तरण



खोटाङ, २२ चैत ।  जिल्लाको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयमा नेपालका लागि भारतीय राजदूतावासको आर्थिक सहगोगमा निमार्ण गरिएको विद्यालय भवन र छात्रावास विद्यालयलाई हस्तान्तरण गरिएको छ । दूतावासको रु तीन करोड ६१ लाख ९५ हजार ९६० लगानीमा निर्माण गरिएको २० कोठा भएको दुईतले विद्यालय भवन र २२ कोठा भएको दुईतले छात्रावास भवन बिहीबार दूतावासका मुख्य सचिव सुमन शेखरले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

वि.सं. २०६६÷०६७ मा ठेकेदार कम्पनीमार्फत निमार्ण शुरु गरिएको विद्यालय भवन र छात्रावास वि.सं. २०७२ सालमा सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएर सञ्चालनमा आएको आठ वर्षपछि विद्यालयले आयोजना गरेको कार्यक्रममा दूतावासले औपचारिकरुपमा विद्यालयलाई भवन र छात्रावास हस्तान्तरण गरेको हो ।

भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको सुविधासम्पन्न विद्यालय भवन र छात्रावास सञ्चालनमा आएसँगै विद्यालयको पठनपाठनमा ठूलो सहयोग पुगेको विद्यालय प्रधानाध्यापक गोपाल बस्नेतले बताउनुभएको छ । “विद्यालयमा भवन अभाव हुँदा पठनपाठन सञ्चालन गर्न असहज थियो । भारतीय दूतावासले सुविधासम्पन्न भवनहरु निर्माण गरिदिएका छन्”, उहाँले भन्नुभयो, “दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको सबै भवनहरु प्रयोगमा ल्याइएपछि अहिले पठनपाठन तथा प्रशासनिक कामकाजमा सहज भएको छ । यसले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

तत्कालीन नमूना विद्याधामको पुरानो भवनमा पठनपाठन हुँदै आएको शारदा माध्यमिक विद्यालयमा वि.सं. २०७२ सालको भूकम्पले उक्त भवनहरु जीर्ण भएपछि निर्माणाधीन भवन सम्पन्न नहुँदै वि.सं. २०७२ वैैशाख–१४ गतेदेखि प्रयोगमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलाराज बस्नेतले बताउनुभएको छ । नवनिर्मित २० कोठाको आरसिसि विद्यालय भवनमा पठनपाठन तथा २२ कोठाको आरसिसि छात्रावास भवनमा शिक्षक र विद्यार्थी बस्दै आएका छन् ।

भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्य सचिव शेखरले विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीबीचको समन्वयनमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । “अध्ययनरत विद्यार्थीहरूले व्यवस्थित र सहजरूपमा पठनपाठन गरेर गुणस्तरीय शिक्षा पाउने कुरामा आफू आशावादी छु । आगामी दिनमा खोटाङ जिल्लामा शैक्षिक क्षेत्र लगायत अन्य क्षेत्रमा सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उहाँले भन्नुभयो, “हामीले नेपालका हरेक क्षेत्रमा सहयोग गर्दै आएका छौँ । कोशी प्रदेशमा मात्र ८५ वटा विद्यालयमा सहयोग गरेका छौँ । स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने योजनास्वरुप खोटाङलाई चारवटा एम्बुलेन्स सहयोग गरेका छौँ ।”

भवन हस्तान्तरण कार्यक्रममा मुख्य सचिव शेखरले दूतावासबाट भुक्तानी गर्न बाँकी रु २८ लाख ७९ हजार २५७ को चेकसमेत जिल्ला समन्वय समिति खोटाङका निमित्त समन्वय अधिकारी ढुण्डीराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको छ । दूतावासले उपलब्ध गराएको बाँकी भुक्तानी रकम ठेकेदार कम्पनी ईन्द्रणी–रौताहा–सगरमाथा जेभीलाई उपलब्ध गराइने निमित्त समन्वय अधिकारी पाण्डेले जानकारी दिनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले शैक्षिक क्षेत्रको विकासमा भारतीय दूतावासको सहयोग महत्वपूण रहेको बताउनुभएको छ । “नेपालको शैक्षिक तथा भौतिक विकासमा भारतको ठूलो सहयोग छ । यसलाई निरन्तरता दिन म भारतीय दूतावासका मुख्य सचिव सुमन शेखरज्यूलाई अनुरोध गर्छु”, उहाँले भन्नुभयो, “नेपाल र भारतबीचमा रोटी–बेटीको सम्बन्ध छ । यसलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै लैजानुपर्छ ।”

विद्यालय भवन तथा छात्रावास भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङ, रावाबेँसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता हरि पोखरेल, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष तिम्सिना लगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीहरुले साँगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।

कक्षा–१२ सम्म अध्ययन÷अध्यापन हुँदै आएको शारदा माध्यमिक विद्यालयमा ४६० जना विद्यार्थी अध्ययनरत रहेका छन् । वि.सं. २००९ सालमा स्थापना भएको विद्यालय तत्कालीन नमूना विद्याधामको पुरानो भवनमा सञ्चालन हुँदै आएको थियो ।

दूतावासले १९५ जोर डेक्सबेञ्च, ४० वटा दराज, कुर्सी, टेबल लगायतका फर्निचरसमेत उपलब्ध गराएको जनाइएको छ । वि.सं. २०२८ सालमा माध्यमिक तहको कक्षा सञ्चालन भएको शारदा माध्यमिक विद्यालय शुरुमा अङ्ग्रेजी माध्यमको पढाइ सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको पाइएको छ ।

कार्यक्रममा स्थानीय बासिन्दा एवम् पूर्वभूमिसुधार अधिकारी स्वर्गीय अम्बरविनोद पोखरेलको छोरीहरु विमला र गीता पोखरेलले बुबाको स्मृतिमा नगद रु ६० हजार रकम विद्यालयलाई उपलब्ध गराउनुभएको छ । पोखरेल दिदीबहिनीले उपलब्ध गराएको रकम विद्यालय प्रशासन सञ्चालनमा खर्च गरिने प्रधानाध्यापक बस्नेतले बताउनुभएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार ००:००  ९ : ०७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली