२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यकर्ताले अग्रजको क्रान्तिकारी विचारलाई अनुशरण गर्नुपर्छ : उपाध्यक्ष शाक्य

कार्यकर्ताले अग्रजको क्रान्तिकारी विचारलाई अनुशरण गर्नुपर्छ : उपाध्यक्ष शाक्य



खोटाङ, २८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अग्रजहरुलाई सम्मान गर्दै उहाँहरुको त्याग, तपस्या र योगदानको अनुशरण गर्नुपर्ने बताउनुभएको छ । एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष शाक्यले अग्रजहरुको क्रान्तिकारी विचारबाट नेता तथा कार्यकर्ताहरु प्रेरित हुँदै देश र जनताको हितमा लाग्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशको पूर्वमुख्यमन्त्री समेत रहनुभएकी नेतृ शाक्यले जनतालाई ‘माक्सवाद, लेनिनवाद र बहुदलीय जनवाद’का बारेमा नेता तथा कार्यकर्ताहरुले जानकारी दिनुपर्ने बताउनुभयो । “कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठले प्रतिपादन गर्नुभएको ‘माक्सवाद, लेनिनवाद र बहुदलीय जनवाद’का बारेमा हामी नेताहरुले कार्यकर्तालाई समेत बुझाउन सकेका छैनौँ । यसले कम्युनिष्ट पार्टीमा गुटउपगुट जन्मिएको छ”, उहाँले भन्नुभयो, “नेपालका कम्युनिष्ट पार्टीहरु एक ढिक्का भएमात्र देश विकास हुन्छ । यसप्रति सबै नेता तथा कार्यकर्ता सचेत हुन आवश्यक छ ।”

नेतृ शाक्यले अग्रज नेताहरुको त्याग, तपस्या र योगदानले देशमा आमूल परिवर्तन आएको बताउनुभएको छ । “देश लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । यसमा नेताहरुले ठूलो त्याग र बलिदान गरेका छन्”, उहाँले भन्नुभयो, “निरङ्कुश राजतन्त्रलाई फालेर गणतन्त्रण स्थापना गर्नु आफैमा चुनौतिपूर्ण अवस्था थियो । अग्रज नेताहरुकै त्याग, तपस्या र योगदानमा संविधानसभाबाट जनताको संविधान निर्माण गरेर कार्यान्वयनमा ल्याइएको हो । यसलाई सम्मान गर्नुपर्छ ।”

उद्घाटन कार्यक्रममा एमालेका स्थायी समिति सदस्य एवम् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवम् खानेपानीमन्त्री राजेन्द्र राई लगायतले सम्बोधन गर्नुभएको थियो । अधिवेशन उद्घाटन कार्यक्रमका वक्ताहरुले एमाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिएको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम औपचारिकरुपमा सकिएलगत्तै बन्दसत्र शुरु भएको एमालेले जनाएको छ । एमाले खोटाङका कार्यकर्ता र शीर्ष नेताले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन् ।

अधिवेशनमा जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राईको प्रतिस्पर्दा हुने देखिएको छ । उनीहरु दुवै जनाले एकले अर्कोलाई नस्वीकार्दा चुनावी माहोल बनेको समाचार स्रोतको दावी छ ।

उपाध्यक्षका लागि वर्तमान पार्टी सचिव कुमार आचार्य र सचिवालय सदस्य उपिनकुमार राईको दावी छ । सचिवमा अहिलेसम्म वर्तमान उपसचिव सुरेन्द्रकुमार राईको एकल दावी देखिएको छ भने, अन्य पदाधिकारीमा दुवै पक्षले उम्मेदवारको नाम टुङ्ग्याएका छैनन् ।

उद्घाटनसत्र समापन भएसँगै आफ्नो पक्षमा माहोल बनाउन दुवै समूहका नेता तथा कार्यकर्ताबीच प्रतिनिधि तानातानको कसरत चलिरहेको छ । अधिवेशनले पाँचजना पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ ।

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशनका कारण दिक्तेल बजारमा नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ । चैत–२९ गतेसम्म सञ्चालन हुने जिल्ला अधिवेशनमा ५७९ जना प्रतिनिधि सहभागी रहेको एमाले स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ००:००  १० : ५७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली