८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निःशुल्क आँखा शल्यक्रिया शिविरमा १०२ वर्षीय वृद्धसहित १४३ जनाको आँखाको सफल शल्यक्रिया

निःशुल्क आँखा शल्यक्रिया शिविरमा १०२ वर्षीय वृद्धसहित १४३ जनाको आँखाको सफल शल्यक्रिया



खोटाङ । नेत्र ज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा १०२ वर्षीय वृद्धसहित १४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ । गत वैशाख–२९ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित १४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको सामान्य शल्यक्रिया गरिएको हो ।

चार वर्षदेखि पूर्णरुपमा देख्न छाड्नुभएका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको बताउनुभएको छ । “चार वर्षसम्म अन्धकारमा बस्न बाध्य थिएँ ! शल्यक्रियापछि संसार देख्ने भएको छु”, उहाँले भन्नुभयो, “डाक्टरहरु भगवान हुँदा रहेछन् । मेरो गुमेको दृष्टि पुनः फर्काइदिनुभयो । उहाँहरुलाई म बुढो मान्छेको आशिर्वाद छ ।”

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा सञ्चालित शिविरको पहिलो दिन बैशाख–२९ गते ४१ जनाको आँखा शल्यक्रिया गरिएको थियो । यसमध्ये ३७ जनाको मोतियाविन्दुको शल्यक्रिया र चारजनाको सामान्य किसिमको शल्यक्रिया गरिएको थियोे । पहिलो दिन ३३१ जनाको आँखा जाँच गरिएको थियो ।

दिक्तेलस्थित जिल्ला अस्पताल परिसरमा रहेको आँखा उपचार केन्द्रमा आयोजना गरिएको शिविरको दोस्रो दिन ४४ जनाको मोतियाविन्दुको शल्यक्रिया र ११ जनाको सामान्य किसिमको शल्यक्रिया गरिएको आयोजकले जनाएको छ । दोस्रो दिन सञ्चालन गरिएको शिविरमा ३४७ जनाको आँखा जाँच तथा उपचार गरिएको थियो ।

शिविरको तेस्रो दिन ४८ जना मोतियाविन्दु भएका बिरामीको आँखा शल्यक्रिया गरिएको छ भने २१९ जनाको आँखा जाँच गरिएको आयोजक नेत्रज्योति सङ्घले जनाएको छ । तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा. दिवाकर चौधरीसहित १४ जना स्वास्थ्यकर्मीको टोली दिक्तेल आउनुभएको छ ।

नगरपालिका, नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा पुगेर आँखा जाँच गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएका बिरामीलाई लक्षितगरी निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्रग्योति सङ्घका अध्यक्ष ईन्द्र कसजूले बताउनुभयो । “शिविरमा ३७३ जनालाई निःशुल्क चस्मा तथा ६५० जनालाई निःशुल्क औषधि वितरण गरिएको छ । शल्यक्रिया गरिएका बिरामीहरु अहिले पनि आराममै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उनीहरुलाई पूर्णरुपमा ठीक भएपछि ड्रेसिङ गरेर घर पठाउने तयारी गरिएको छ । घर पठाएपछि पनि उनीहरुसँग निरन्तर परामर्शमा रहन्छौँ । केही समस्या आएको खण्डमा पुनः दिक्तेल झिकाएर उपचारमा सहयोग गर्ने गरेका छौँ ।”

आँखाको रोग सम्बन्धी समस्याबाट पीडित जिल्लावासीलाई निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यसहित वि.सं. २०६० वैशाख–१० गते स्थापना भएको नेत्र ज्योति सङ्घमा १०१ जना आजीवन सदस्य र २५ जना साधारण सदस्य छन् । नेत्र ज्योति सङ्घको मातहतमा रहनेगरी दिक्तेल र हलेसीमा आँखा उपचार केन्द्र सञ्चालन गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि नै २७ पटक निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरेको सङ्घले दुई हजार ४१० जनाभन्दा बढीको मोतियाबिन्दुको सफल शल्यक्रिया, २५ हजार २०० जनाको नेत्र विशेषज्ञबाट आँखा जाँच गरेको थियो । दुई हजार ३०० जना ज्येष्ठ नागरिकलाई पढ्नका लागि पावर चश्मा र आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको सङ्घले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ००:००  ७ : ३४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली