१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वरिष्ठ कवि तथा साहित्यकार किराती सम्मानित

वरिष्ठ कवि तथा साहित्यकार किराती सम्मानित



खोटाङ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वरिष्ठ कवि तथा साहित्यकार जसराज किरातीलाई नगदसहित सम्मान गरेको छ । प्रतिष्ठानले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बिहीबार त्रिधार्मिकस्थल हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगिता उद्घाटन समारोहमा साहित्यकार किरातीलाई ११ हजार १११ नगदसहित ताम्रपत्र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कवि तथा साहित्यकार किरातीले साहित्य लेखनको माध्यमबाट समाज रुपान्तरणमा पु¥याउनुभएको योगदानको कदरस्वरुप नगदसहित दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । सम्मानित कवि तथा साहित्यकार किरातीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।

वि.सं. २००२ सालमा खोटाङको साबिक बुइपा गाविस हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा जन्मनुभएका साहित्यकार किरातीले यसअघि दुई दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । साहित्यकार किरातीको उज्यालो खोज्ने आँखाहरु–२०३७, जसराज किरातीको कविताहरु–२०५७ र जसराज किरातीको प्रतिनिधि कविताहरु–२०६५ प्रकाशित कृतिहरु हुन् ।

ग्रामीण क्षेत्र खोटाङमै बसेर साहित्यिक विद्यामा कमल चलाइरहनुभएका कवि तथा साहित्यकार किरातीले सृजना गोरेटो, आक्रोश, हलेसी कुञ्ज लगायतका साहित्यिक पत्रिकाहरु सम्पादन गर्नुभएको थियो । खोटाङको माटोले जन्माएको कवि तथा साहित्यकार किरातीलाई यथार्थवादी कविकोरुपमा चिन्ने गरिन्छ ।

वैशाख–३१ गतेदेखि जेठ–१० गतेसम्म सञ्चालन हुने महोत्सव अन्तरगत बिहीबार हलेसीमा खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगीलाई प्रत्यक्ष वाचन गराएर फाइनल प्रस्पिर्धा गराइने प्रतियोगिताका लागि आयोजकसँग दर्ता भएको ३५ जनाको कवितामध्येबाट १६ वटा छनोट गरिएको जनाइएको छ ।

छनोटमा परेका कवि तथा कवयत्रीका कविता स्वयम् कवि तथा कवयत्रीलाई वाचन गर्न लगाएर प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ स्थानसम्म घोषणा गरिने निर्णायक मण्डलका संयोजक रामबिक्रम थापाले जानकारी दिनुभएको छ । हलेसीस्थित होटल जाम्बालामा सञ्चालन भइरहेको प्रतियोगिताका लागि धनकुटाका अनिल अदृष्यको ‘इन्द्रेणीको अनुहार’, सुनसरीका किरण सिवाको ‘बिर्खे दमाईको आवाज’, तनहुँका चेतन न्यौपानेको ‘युवाको खाँचो’, उदयपुरका जीवन चाम्लिङ राईको ‘भरिया दाइ’, सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को ‘छम्कली रोकाया’, कालिकोटका रणबहादुर रानाको ‘असन्तोषको पर्खाल’, भोजपुरकी शशिकला राईको ‘म यात्री मनको’ र भोजपुरकै सङ्ग्राम किरातीको ‘बाध्यता कि रहर’ छनोटमा परेको छ ।

प्रतियोगितामा खोटाङका सातजनाको कविता छनोट भएका छन् । ज्ञानदीप चाम्लिङ राईको ‘मातृभूमि आमाको आँसु’, नानुमैयाँ दाहालको ‘मलाई रगत मनपर्छ’, प्रकाश आचार्य ‘भावुक’को ‘यो देश लम्काउन’, प्यासीको ‘मेरो देश’, रमिला राईको ‘मिती गएपछि’, मौषम आचार्यको ‘सँस्कृतिको समाधि’, सोनम सज्जन किरातीको ‘विनिमय’ र हेम बास्तोला ‘भावुक’को नेपालीपन छनोटमा परेको हो ।

राष्ट्रिय कविता प्रतियोगिताका विजयीलाई क्रमशः नगद ४० हजार, २५ हजार,  १७ हजार,  ११ हजार र रु सात हजार प्रदान गरिने आयोजकले जनाएको छ ।महात्सवको साहित्य विद्यातर्फ खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन गर्ने जिम्मा रावासावा प्राज्ञिक समाज नेपाल र टेम्के तुवाचुङ प्रतिष्ठानले लिएको छ ।

राष्ट्रिय कविता प्रतियोगिता उद्घाटन कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकारहरुको उपस्थिति रहेको छ । कार्यक्रममा मुन्दुम अध्यता भोगीराज चाम्लिङले किराँत दर्शन तथा डिआर पोखरेलले जोसमणि सन्त दर्शन सम्बन्धी दुईवटा कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको छ ।

चन्दा सङ्कलन तथा दाताको भरमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब  ५२ लाख खर्च हुने आयोजक जनाएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।

एघार दिनसम्म सञ्चालन हुने महोत्सव अन्तरगत सोमबार एथ्लेटिक्स विद्याका प्रतियोगिताहरु सम्पन्न भएको महोत्सवको व्यवस्थापकीय भूमिकामा रहेको नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजूले जानकारी दिनुभएको छ । खुला महिला÷पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उचाल्नुभएको छ ।

उपाधि विजेता बुढा र राईले जनही नगद रु ७५÷७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको एथ्लेटिक्सतर्फ आठ इभेन्टस् (विद्या)मा प्रतिस्पर्धा गराइएको थियो ।

महोत्सव अन्तरगत जेठ–६ गते खुला गायन प्रतियोगिता तथा जेठ–८ गतेदेखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने आयोजकले जनाएको छ ।

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने प्रतियोगितामा महिला÷पुरुष टोली प्रथम, द्धितीय, तृतीय र चौथोले क्रमशः एक लाख ११ हजार १११, ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ ।

महोत्सव सफल पार्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौँवटा उपसमिति गठन गरिएको छ । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा साहित्यिक एवम् साँगीतिककर्मीहरु दिक्तेल बजारमा भेला भएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार ००:००  ३ : ४३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली