१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेश : मन्त्रीमण्डल दश सदस्यीय बन्दै, को-को बन्दैछन मन्त्री नामसहित

कोशी प्रदेश : मन्त्रीमण्डल दश सदस्यीय बन्दै, को-को बन्दैछन मन्त्री नामसहित



बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गर्दै दश सदस्यीय मन्त्रीमण्डल बनाउने भएका छन् । जसमा एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट ४ जना सहभागी हुने भएका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार एमालेबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित मन्त्रीहरुमा इलामका रामबहादुर मगर, झापाका एकराज कार्की, खोटाङका पाँचकर्ण राई (पिके) र मोरङका लिलाबल्लभ अधिकारी मन्त्री हुनेछन् । उनीहरुमध्ये मगर यसअघि वैशाख २७ गते नै मन्त्री नियुक्त भइसकेका छन् भने कार्की, राई र अधिकारीसहित राज्यमन्त्रीमा भोजपुरकी सिर्जना राईलाई आजै नियुक्ति पछि शपथ गराउने तयारी भएको छ ।

यस्तै माओवादी केन्द्रबाट यसअघि मन्त्रीमा मोरङका गणेशप्रसाद उप्रेती मन्त्री नियुक्त भइसकेका छन् भने माओवादीबाट थप उदयपुरका नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्रकुमार कार्की मन्त्री तथा झापाकी बन्दना झाँगड राज्यमन्त्री बन्ने निश्चित भएको स्रोतको भनाइ छ । नवनियुक्त मन्त्रीहरुको शपथग्रहणको लागि बेलुका साढे ४ बजेको समय निर्धारण गरिएको सरकारका प्रवक्ता तथा मन्त्री रामबहादुर मगरले जानकारी दिए ।

संविधानको धारा १६८ (५) अनुसार गत वैशाख २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका बेला पनि कार्कीले एमालेबाट लिलाबल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राई मन्त्री तथा सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए । अहिले पनि उनीहरु दोहोरिने भएका हुन् ।

यस्तै माओवादीबाट मन्त्री बन्न लागेका राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री थिए । माओवादीले राज्यमन्त्री बनाउन लागेकी झापाकी बन्दना झाँडगले भने पहिलो पटक उक्त जिम्मेवारी पाउने भएकी हुन् ।

यसैबीच कुन मन्त्रालयमा को मन्त्री पठाउने भन्ने विषयमा भने अझै टुंगो लाग्न सकेको छैन । उक्त विषयमा सहमति जुटाउन मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच अहिले पनि छलफल जारी छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार ००:००  ३ : ५१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली