खुपेन्द्रको बाजे, कनक बहादुरको बा हर्कमानले रोपेको झ्याम्म फराकिलो पिपलको रुखको सबसे आकर्षक डालीको झाडीभित्र हाम्रो सानो घर छ । घर सुन्दर छ ।
कथाको सुरुवात क्या सरल र सुन्दर छ हगी?
भर्खरै मेरी ओथारो बसेकी चरी, जस्लाई म मायाले जुरेली भन्छु, का लागी आहारा लिएर फर्किएको थिएँ । यो बेला उनीलाई पौष्टिक आहारा प्रसस्त चाहिन्छ । गोल गोल दुई गोलाबाट चाँडै हाम्रो दुई सन्तान यो आकासमा जन्मनेछ्न । म दंग छु, जुरेली दंग छे ।
म जब दिउँसो घर आईपुँगे, हाम्रो घरको ठिक तल तकरिवन १५ मिटर तल पिपलको फेदमुनी हर्कमानको चौतारीमा २०/२५ जना मनुवाहरु गनगन गरिरहेको पाएँ । म चकित परेँ । हुन त मनुवाहरुको गाँउको विच उभिएको यो पिपलको रुखमा दिनहुँ २०/२५ जना मानिस आतेजाते गरिरहन्छन, सियाँल ताप्छ्न, गफासफा गर्छ्न, कोहि फुस्स निदाउछ्न, कोहि घन्टौँ मुढाजस्तो अचल बसिरहन्छन, कोहि एक्लै बर्बराउछन त कोहि एक्लै धुरुधुरु रुन्छ्न । तर यतिका मनुवा एकसाथ भेला भएर यसरी चर्काचर्कि गरेको मैले पहिले कहिल्यै देखेको थिईन ।
“म यो पिपल ढाल्ने जोसुकै मुला होस, मुला काटेजस्तो काटिदिन्छु…” कनक बहादुर पुरै आवेसमा चिच्याई रहेका थिए ।
“कल्याङ कुलुङ, कल्याङ कुलुङ….” मतलव तत्पश्चात सवै सवैको एकैपटकको चिच्याहट यस्तै सुनेँ मैले ।
“विकास बिरोधी….” फलानो नम्बर १ उवाच ।
“याँ बाट रोट खन्दा तेरो बारी सवै घडेरी बन्छ त जाँठा विकास अवरोधी !”- फलानो नम्बर २ !
“मेरो बाउले रोपेको यो चिनो हो मुलाङ हो । यस्लाई डोजर लाउनु अगाडी मेरो छाँतीमा डोजर कुदाउनु” – कनक बहादुर वाणी !
“कल्याङ कुलुङ, कल्याङ कुलुङ….”
तकरिवन एक घण्टा पछि, …
“सब चुप ! सहमतिमा जाउँ दाजुभाईहरु हो… रोड त जसरी नि बनाउनै पर्छ, यति छोटो, डिपिआर समेत भएको अनि सवै बस्तीलाई समान फाईदा पुग्ने अर्को बिकल्प नै हुन सक्दैन… के भन्छौ ऐ खुपेन्द्र ?…” वडाध्यक्षको अन्तिम प्रवचन ।
“Something must be sacrificed to gain something daddy ! … हुन्दिनु न त सवैको भलाईको लागी । यो बुढो रुखको सट्टा अब विकासको नयाँ मार्गचित्र कोरौँ …” – स्नातकोत्तरधारी खुपेन्द्रको महाण वाणी ।
पररररररर ताली…
कनक बहादुर ट्वाँ….
ठाउँका ठाउँ माईन्यूट तयार, हस्ते संकलन र सहमती ।
अब कथाको अन्त्य यस्तो छ…
त्यस्पछी म उडेँ नयाँ उडानमा हामीलाई सुकुम्बासी बनाउने सहमतिको सिधै माथीबाट । यस्पटकको मेरो उडान जुरेलीको आहाराको खोजी थिएन । यस्पटकको मेरो उडान नयाँ घरको खोजीमा थियो, जहाँ मनुवाहरुको विकासका कारण मेरो घर नभत्कियोस ।
उड्नु अगाडी मैले जुरेलीलाई भनेको थिएँ, “जुरेली, म नयाँ घर खोजेर आउछु, हाम्रा अण्डाहरु छाडेर उड्न तयार भएर बस्नू !”
हsss… कथा समाप्त !
लेखक :- पिएस्पी चाम्लिङ राई दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।